तरलता अभावबारे राष्ट्र बैंकका सञ्चालक रेग्मीलाई अध्यक्ष रायमाझीकाे सुझाव

14
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

ग्रिनफिल्ड बचत तथा ऋण सहकारी संस्थाको बाह्रौँ वार्षिक साधारण शनिवार काठमाडौँमा सम्पन्न भएको छ । साधरण सभामा स्वागत मन्तब्य राख्दै अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय अध्यक्ष सुन्दर रायमाझीले नेपाल राष्ट्र बैंकका बोर्ड अफ डाइरेक्टर तथा सञ्चालक रामजी रेग्मीलाई सरकारको पुँजीगत खर्च बढाएर बजारमा आएको तरलता अभावलाई समाधान गर्न सकिने सुझाव दिएका छन् । त्यस्तै उनले हुन्डी नियन्त्रण, वैदेशिक ऋण वा अनुदान चाँडो ल्याउने, लगायतका व्यवस्था गरे तत्काल तरलताको समस्या समाधान हुने बताए ।


विगत दुई वर्षभन्दा लामो समयदेखि कोभिड-१९ को महामारीबाट शिथिल रहेको उद्योग व्यवसाय बिस्तारै सुधार हुने अवस्थामा रहेको थियो, तर अहिले बैंकिङ क्षेत्रमा देखिएको तरलता समस्याले यसलाई थप मारमा पारेको छ’ माग र आपूर्तिको स्वाभाविक अर्थशास्त्रीय नियमअनुसार निर्धारण हुने मूल्य भन्दा अहिलेको तरलता अभाव जस्तो प्रणालीगत अक्षमताका कारण उत्पादन लागतमा एक्कासि वृद्धि भएर निर्धारण हुने मूल्यको ‘चेन इफेक्ट’ अर्थतन्त्रमा लामो हुन्छ।

यसको प्रभाव सिङ्गो बजारमा पर्छ, जसले अर्थतन्त्रमा इन्फ्लेशनको ज्वार उठाउँछ। उनले भने, ‘यसलाई तत्काल समाधान गरिएन भने यसले ठूलो र दीर्घकालीन समस्या पुर्‍याउनेछ ।

रायमाझीले सहकारीका सदस्य, सञ्चालक र यसमा आबद्ध कर्मचारीहरूले सहकारी संस्थालाई आफ्नै सम्झेर कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिए । रायमाझीले केही सहकारीको बदमासीले अझै पनि सहकारी संस्थाको विश्वसनीयता माथि प्रश्न उठिरहेकोले सहकारी संस्थालाई जबाफदेहीताका साथ सहकारीको सिद्धान्त ,मूल्य मान्यता बमोजिम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

सभाको समुद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका सञ्चालक रामजी रेग्मीले सहकारी संस्थाहरु स्थानीय निकायहरूको मातहतमा गई सकेको बताउँदै चाँडो भन्दा चाँडो ऐन, कानुन बनाएर व्यवस्थित गर्नुपर्ने बताए । सीसीडी अनुपातको उच्चतम विन्दुमा ऋण प्रवाह भइसकेपछि थप कर्जाका लागि ब्यांकहरूको ‘स्पेस’ खुम्चिएको साँचो हो, तर बैकिङप्रणलीभित्र अझै पनि लगानीयोग्य तरलता रहेको रेग्मीको दाबी छ। कर्जा वृद्धिको अनुपातमा निक्षेप वृद्धिदर कम हुनु अहिलेको तरलता संकटको कारण रहेको भन्दै उनले यसलाई गम्भीर चिन्ताको विषय भएको बताए ।

संस्थाका अध्यक्ष डेलनाथ सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा टोखा नगरपालिकाकी उपप्रमुख ज्ञानुमाया डंगोलको प्रमुख आतिथ्यतामा, नेपाल राष्ट्र बैंकका बोड अफ डाइरेक्टर तथा सञ्चालक रामजी रेग्मीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रमको स्वागत मन्तव्य अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय अध्यक्ष सुन्दर रायमाझीले गरेका थिए ।