धर्म भकारी –४ माना अन्नबाट ४० मुरी संकलन

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत ।

गाउँघरमा खाद्यान्नको अभाब हुँदा सहयोग गर्न चलाइएको धर्म भकारी अभियानबाट पर्वतको ठानामौलामा चालिस मुरी अन्न संकलन भएको छ । तीन दशक अघि ४/४ माना अन्न उठाएर शुरु गरिएको धर्म भकारीमा अहिले सम्म ४० मुरी कोदो संकलन भएको हो ।

कुनै पनि वेला प्राकृतिक प्रकोपको समस्या हुँदा होस वा अनावृष्टि हुदा अन्नको संकट हुन नदिन तीस बर्ष अघि देखि यहाँ धर्म भकारी सञ्चालन गरिएको छ । बर्षा याममा खेती लगाउने समयमा घरमा अन्नपात सकिएमा गाउले भेला भएर यही अन्न पैचो लगेर काम चलाउछन् भने हिउँदमा सवैले आफुले लगेको अन्नमा केही थपेर धर्म भकारीलाई फिर्ता गर्दै आएका छन ।

धर्मभकारीबाट कोदो लाने व्याक्तिले १० पाथी कोदो लगेकोमा २ पाथी थपेर मंसिरमा फिता गर्दै आएको समितिका सदस्य रत्नबहादुर गुरुङ्गले बताउनुभयो । ‘घरमा अन्न सकिएको बेला धर्म भकारी गाउँलेको सहयोगी बन्दै आएको छ।’ उहाँले भन्नुभयो ‘चार माना उठाएर शुरु गरेका थियौ, अहिले चालिस मुरी संकलन भैसकेको छ।’

भकारीबाट कोदो सापटी लगे पछी कोदोनै फिर्ता गर्नुपर्छ पैसा तिर्न भने पाईदैन । आफूले लगेको अन्न मंसिरमा फिर्ता गनुपर्ने भएकोले सदस्यले आफ्नो वारीमा कोदो फलाउनै पर्छ । यसो गर्दा स्थानिय स्तरमा कोदो खेती गर्ने कुरालाई प्रोत्साहन समेत दिएको गुरुङ्गको भनाई छ।

विगत ३० वर्ष देखि संचालन हुदै आएको धर्म भकारी अन्नको संरक्षण गर्ने पराम्परा अहिले पनि उत्तिकै सक्रियतापुर्वक चलेकोछ । समयको परिवर्तन संगै समाजका कतिपय सास्कृतिक पराम्परा , प्रविधि लोप हुर्दै गए पनि यहाँका वासिन्दाले धर्मभकारी भने लोप हुन नदिने कुरामा प्रतिबद्ध छन ।

कहिले महामारी अनिकाल हुनसक्छ जेष्ठ असारमा खेती लागाउने समयमा केही नभएपनि धर्म भकारीको कोदो बाँडेर समस्यामा परेकाहरुलाई सहयोग गरिने धर्मभकारी संरक्षण कोषका अध्यक्ष तथा वडा सदस्य नन्दु गुरुङले वताउनु भयो । बितरण गर्दा विपन्न असहायहरुलाई पहिला भाग लगाइन्छ भने त्यसपछि अरुको पालो आउने उहाँले बताउनुभयो ।

धर्म भकारीमा रहेको अन्न प्रायः जेठ महिनामा बितरण हुदा मंसिर सम्म भने भकारी खाली रहने गरेको छ । मंसिरमा अन्न फिर्ता गरेपछि भकारी फेरी भरिन्छ ।