कार्यालय सहयोगी र अपरेटरको भरमा गाउँपालिका सञ्चालन 

जनप्रतिनिधि र कर्मचारी पार्टीको सभा समारोहमा व्यस्त

0
Shares

 ललित सिंह, बझाङ ।

जिल्लाको र्दुगाथली गाउँपालिका कार्यालय सहयोगी र अपरेटरको भरमा सञ्चालन गदै आएका छन् । दुई साता देखि कार्यालय सहयोगी र अपरेटरको भरमा गाउँपालिका सञ्चालन गर्दै आएको स्थानीयहरूले बताएका छन् । गाउँपालिका अध्यक्ष, कार्यालय प्रमुख र विषयगत शाखा प्रमुखहरू कार्यालयमा उपस्थित नहुँदा गाउँपालिका बाट हुने दैनिकी कामहरू प्रभावित बन्दै गएका छन् ।

गाउँपालिकाका विभिन्न वडाहरूबाट गाउँपालिकाकै कामले आएका स्थानीय बासिन्दाहरू हप्तौँ दिन काट्दा पनि सम्बन्धित शाखाका कर्मचारीहरू पार्टीको विभिन्न सभा सम्मेलन र आफ्नो व्यक्तिगत कामले गाउँपालिका बाहिर र जिल्ला बाहिर गएका कारण स्थानीय सेवाग्राहीहरू   मर्कामा परेका छन् ।

२०७५र०७६ को बजेटबाट नयाँ सडक खण्डको काम सम्पन्न भई सके पछि धरौटी बापतको रकम भुक्तानी लिन दुई हप्ता देखि दुर्गाथली गाउँपालिकाको कार्यालयमा दैनिकी आए तर कर्मचारीहरू नहुँदा खाली हात घर फर्कनु पर्ने बाध्यता रहेको नेपाली काँग्रेस दुर्गाथली गाउँपालिका सभापति युवराज भण्डारीले बताएका छन् ।

दुर्गाथली गाउँपालिका अध्यक्ष लगायत कार्यालय प्रमुख सम्बन्धित शाखाका कर्मचारीहरू र कार्यालय सहयोगीहरु नेकपा एमाले र नेकपा समाजवादीको गाउँगाउँ र जिल्लामा सभा सम्मेलन चलिरहेको हुँदा सबै कर्मचारी र जनप्रतिनिधिहरू विभिन्न पार्टीहरूसँग आबद्ध भएकाले गाउँपालिकाको काम प्रभावित बन्दै गएको सभापति भण्डारीले बताए ।

गाउँपालिकामा अध्यक्ष लगायत  प्रमुख प्रशासकीय अधिकृत र अन्य शाखा प्रमुखहरू कार्यालयमा नहुँदा त्यहाँका स्थानीय सेवाग्राहीहरूको काम अवरोध भएको हो । देशमा सघियता आइसकेपछि  सिंहदरबारको अधिकार गाउँगाउँमा आएपछि स्थानीयलाई सेवा लिन सहज र सरल ढङ्गबाट लिनु पर्ने भएता पनि यता दुर्गाथली गाउँपालिकामा भने जनप्रतिनिधिहरू र गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरू आ आफ्नो व्यक्तिगत काम र पार्टीको झन्डा बोकेर केही नेता निकट कार्यकर्ता हुनमा व्यस्त देखिन्छन् ।

अफिसियल काममा महत्त्व नदिई आफ्नो व्यक्तिगत काममा बढी ध्यान दिएको स्थानीय बासिन्दाहरूको गुनासो रहेको छ । दुई हप्ता देखि गाउँपालिका सञ्चालन गर्न कार्यालय सहयोगी कैलाश रोकाया र अपरेटर रमेश बिष्टको भरमा खोल्ने र बन्द गर्ने काम मात्र गरिरहेको स्थानीयहरूले आरोप लगाएका छन् ।

यता गाउँपालिका अध्यक्ष प्रयागराज जोशीलाई स्थानीयहरूले गरेको गुनासो फोन मार्फत सुनाउँदा आफू व्यक्तिगत कामले सुदूरपश्चिमको राजधानी धनगढी गएको र कार्यालय प्रमुख  केशवराज जोशी न्यायिक समितिको बैठकमा धनगढी गएको बताए ।

आफूहरू जिल्ला बाहिर जाँदा गाउँपालिकाको कामकाजमा प्रभाव नपर्नको लागि निमित्त कार्यालय प्रमुखको रूपमा दुर्गाथली गाउँपालिका शिक्षा शाखा संयोजक ललित पाण्डेलाई केही हप्ताको लागी कार्यालयको काम सञ्चालन गर्न जिम्मा दिएको गाउँपालिका अध्यक्ष प्रयागराज जोशीले बताए ।

उनले भने हामी स्थानीयहरूलाई सके सम्म सेवा दिने प्रयत्न गरिरहेका हुन्छौ र सेवा पनि दिई रहेको जिकिर गरे । उता स्थानीय बासिन्दाहरूले गुनासो पोखेका छन् । हामी गाउँपालिकाका विभिन्न ठाउँबाट अफिसको कामले लगातार एक हप्ता अफिस आएका छौ । आज काम भएन भोलि हुन्छ भन्दा भन्दै हप्तौँ दिन काट्नु पर्ने बाध्यता रहेको गुनासो गरेका छन् ।