लामाटारमा माओवादी परित्याग गरेको ठुलो समूह एमालेमा प्रवेश


ललितपुर ।

महालक्ष्मी नगरपालिका वडा नं ९ र १०(साविक लामाटार गाविस) मा नेकपा माओवादी केन्द्रमा रहेका १७५ भन्दा बढी नेता तथा कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टी एमालेमा प्रवेश गरेका छन् ।

आइतबार लामाटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले नेता तथा पूर्वमन्त्री महेश बस्नेतले ती नेता कार्यकर्तालाई एमालेमा प्रवेश गराएको एमाले ललितपुरका सचिव पुरुषोत्तम आचार्यले जानकारी दिएका छन् ।

विगतमा ठुलो जनधनको क्षति व्यहोरेर जनयुद्ध गरी सत्ताको केन्द्रमा पुगेको माओवादी केन्द्रका नेताहरु पछिल्लो समय सत्ता र स्वार्थमा केन्द्रित हुँदै तल्लो वर्गका जनताको जीवनस्तर उकास्नेतर्फ ध्यान नदिएकोले अब उक्त पार्टीको औचित्यता सकिएको भन्दै दुई दिनअघि मात्र माओवादी केन्द्रको जिल्ला सदस्यको भूमिकामा रहेका रामप्रसाद तिमल्सिना,वाइसियलको नगर इन्चार्ज र विगतको स्थानीय निर्वाचनमा महालक्ष्मी ९ को वडाध्यक्षको उम्मेदवार रहेका मोहनकृष्ण तण्डुकार,वीरमान तामाङ,सुरेश पोखरेल,हरिकृष्ण थापा लगायतका नेताहरुले पत्रकार सम्मेलन आयोजना गरी माओवादी पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

आईतबार लामाटारको पूर्व गाविस अध्यक्ष समेत रहेका एमालेका बाग्मती प्रदेश कमिटि सदस्य चिरञ्जीवि आचार्यको समन्वयमा ती नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् ।