लोप हुने अवस्थामा बगनासे साँचो



नेपाल समाचारपत्र, पाल्पा ।

ढोका, सटर, गेट आदीमा लगाइने आधुनिक चाबी अर्थात् साँचोभन्दा भिन्न स्थानीय सीप, स्रोत र साधनको उपयोग गर्दै निर्माण गरिने पाल्पाली बगनासे साँचो अहिले संकटमा छ । पुस्तान्तरणका कारण कुनै वेला देश विदेशमा समेत ख्याती पाएको साँचोले पुनर्जीवन पाउने आशामा यसका सिल्पी अर्थात् कालीगढहरू रहेका छन् ।

सदरमुकाम तानसेनसँगै जोडिएको उत्तरी भेगमा पर्ने बगनासकाली गाउँपालिकाअन्तर्गत रहेको बगनास भन्ने स्थानमा बन्ने भएकाले यसलाई बगनासे साँचो भनिन्छ । यो साँचो बनाउन जान्ने कालीगढले नयाँ पुस्तामा यसको सीप हस्तान्तरण नगर्दा वा युवा पुस्ताले पनि यसप्रति रुचि नदेखाउँदा लोपन्मुख अवस्थामा पुगेको हो ।

कालीगढका अनुसार यो साँचो सुरक्षाका हिसाबले बजारमा पाइने साँचोभन्दा निकै वलियो र सुरक्षित हुने गर्दछ । साना–साना फलामका टुक्रालाई जोड्दै बनाइने सो साँचो हेर्दा आकर्षक साथै टिकाउ पनि हुने गर्दछ । स्थानीय कालीगढ टेकबहादुर विश्वकर्माको भनाइमा यस क्षेत्रका कालीगढले यो साँचो बनाउने गर्दथे । साँचो बलियो हुने हुँदा र बजारमा अन्य साँचो नपाइने अवस्थामा यसको कारोबार पनि राम्रो हुने गर्दथ्यो । तर, पछिल्लो समयमा मेसिनबाट निर्मित साँचोको कारण यसको बिक्री घट्यो ।

कालीगढले पनि पेशा छोडदेै गए । अहिले त २/४ जनाले मात्रै यो साँचो वनाउँछन् । उहाँले भन्नुभयो–‘साँचो तयार गर्न दिनभरीको मेहनत लाग्ने भएकाले एउटा साँचोको मूल्य ५ सय रुपियाँमा बेच्ने गरेको बताउनुभयो ।

सोही स्थानका रविलाल विश्वकर्माको भनाइमा नयाँ पुस्ताले यसप्रति चासो नदिएका कारण र आफूहरूले उत्पादन गरेको परम्परागत बगनासे साँचोको प्रयोगमा कमि आउँदा अहिले साँचोहरूको उत्पादन हुन छाडेको हो । पछिल्लो समय यसलाई घरायसी प्रयोगमा भन्दा पनि सजावटका लागि मात्रै प्रयोग गरेकोमा उहाँको चिन्ता छ । यद्यपि, बगनास गाउँपालिकाले भने साँचोका संरक्षणका लागि कार्य गरिरहेको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्याल वताउनु हुन्छ । अध्यक्ष बस्यालका अनुसार बगनासे साँचो पाल्पा जिल्ला एक पुरानो साँचो रहेकाले यसको प्रचारप्रसार गरी पर्यटकलाई आकर्षित गर्नका लागि स्थानीयहरूसँग सहकार्य गरी उत्पादन कार्यलाई निरन्तरता दिने र पुस्ता हस्तान्तरण कार्य भएको छ । बजारमा पाइने साँचोको कारण झण्डै लोपन्मुख हुने अवस्था पुगेको बगनासे साचोलाई संरक्षण गर्नका लागि साँचो निर्माण गर्ने नागरिकलाई अनुदान प्रदान गरी उक्त साँचोको संरक्षण गर्नका लागि गाउँपालिका अगाडि बढेको उहाँले जानकारी दिनुभयो ।

गउँपालिकाका अनुसार साँचो उत्पादन गर्नका लागि अनुदान, तालिम, साथै बजारीकरणको लागि गाउँपालिकाले सहयोग गर्ने गरी साँचोको उत्पादन र बजारीकरण लागि साचो उत्पादन गर्ने सस्थासँग सहकार्य गरि केही परिमार्जन गरी आधुनिक किसिमबाट साँचोको उत्पादनमा र विक्री वितरण गर्ने कार्य अगाडि बढाउनका लागि सहकार्य गर्दै छ ।

प्रतिक्रिया दिनुहोस्