नाफा बुक गर्न खोज्दा नेप्सेमा उच्च गिरावट



काठमाडौं, (नेस)  ।

पछिल्लो २० मिनेट केही सुधार हुँदा पनि साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० झण्डै ८० अंकले गिरावट भएको छ ।

करिब सय अंकको गिरावट भएको बजारमा पछिल्लो समय सुधार हुँदा नेप्सेमा ७९ दशमलव ७९ अंकले मात्रै घटेर कारोबार बन्द भएको हो । तिहार बिदापछि खुलेको बजार दिनहुँ घटेको छ ।मंगलबार नेप्से परिसूचक २७४९ दशमलव ८६ विन्दुमा सीमित भएको छ ।

कुल २२५ कम्पनीको ६ अर्ब ५२ करोड रुपियाँको कारोबार भएको छ । जसमा अन्तिम २० मिनेट करिव एक अर्ब रुपियाँको कारोबार भएको थियो । सूचीकृत कम्पनीहरूले धमाधम लाभांश घोषणा गरिरहेका बेला नेप्सेमा एकैपटक उच्च गिरावट भएको छ । अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्न खोज्दा नेप्सेमा गिरावट आएको अनुमान गरिएको छ ।

मंगलबार नबिल बैंकको मात्रै २९ करोड ८२ लाख रुपियाँको शेयर कारोबार भएको छ । त्यस्तै साहस ऊर्जाको २५ करोड ७९ लाख रुपियाँको कारोबार भएको छ । नेप्सेमा उच्च गिरावट भएको भए पनि तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने साहस ऊर्जा कम्पनी, तेह्रथुम पावर कम्पनी र महिला लघुवित्त वित्तय संस्था रहेका छन् । तीनै कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेको छ ।

त्यस्तै आईसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । ती कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्