१९ न्यायाधीशद्वारा इजलास बहिष्कार

0
Shares

काठमाडौं, (नेस) ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएका सर्वोच्च अदालतका १९ जना न्यायाधीशले मंगलबार इजलास बहिष्कार गरेका छन् ।

यसअघि बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ गर्दै आएका न्यायाधीशहरूले प्रधानन्यायाधीश जबराले तोकेका सबै इजलास वहिष्कार गरेका हुन् ।

न्यायाधीशहरूसँगको सहमतिविपरीत प्रधानन्यायाधीश जबराले मंगलबार नियमितझैं बन्दीप्रत्यक्षीकरणसहित अरू मुद्दामा पनि इजलास तोकेपछि न्यायाधीशहरू इजलासमा नबसेका हुन् । आन्दोलनरत १९ न्यायाधीशसँग प्रधानन्यायाधीश जबराले बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दाको पेसी नतोक्ने र आफ्नो इजलास नराख्ने सहमति गर्नुभएको थियो ।

मन्त्रिपरिषद्मा भागबन्डा मागेर न्यायिक विचलन निम्त्याएको भन्दै दुई साता अघिदेखि उनीहरूले प्रधानन्यायाधीशको राजीनामा माग गरिरहेका छन् । अघिल्लो साता उनीहरू कुनै पनि इजलासमा बसेका थिएनन् । गत साता प्रधानन्यायाधीशले सम्मानजनक बहिर्गमनको प्रस्ताव पठाएपछि उनीहरूले बन्दीप्रत्यक्षीकरका मुद्दा मात्र तोक्ने र प्रधानन्यायाधीशले इजलास छोड्नुपर्ने सर्त राखेका थिए । प्रधानन्यायाधीश जबराले उक्त सर्तमा सहमति जनाउनुभएको थियो ।

प्रधानन्यायाधीश जबराले मंगलबार न्यायाधीशहरू तेजबहादुर केसी र डा. मनोजकुमार शर्माको इजलासमा एउटा बन्दी प्रत्यक्षीकरणको रिटका साथमा १२ वटा मुद्दा राख्नुभएको थियो । उहाँले आफ्नो एकल र अरू न्यायाधीशको ८ वटा संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा पेसी तोक्नुभएको थियो । प्रधानन्यायाधीश जबराको इजलासले एउटा मुद्दामा कारण देखाऊ आदेश गरेको छ भने अर्को मुद्दा तामेलीमा राखेको छ ।

त्यसै गरी, एउटा मुद्दामा हेर्न नमिल्ने आदेश दिइएको छ । प्रधानन्यायाधीश जबराको इजलासमा अझै अरू तीन मुद्दाको सुनुवाइ बाँकी छ । न्यायाधीश केसी र शर्माको इजलासले एउटा बन्दीप्रत्यक्षीकरणको मुद्दा सुनुवाइ गरेको छ भने बाँकी मुद्दा ‘हेर्न नभ्याइने’ मा राखेको छ । अरू न्यायाधीशको भने इजलास नै बसेन ।