राजेश भण्डारीको ‘अधुरो यात्रा’ सार्वजनिक

0
Shares

न्युज अफ नेपाल, स्याङ्जा ।

स्याङ्जाका गायक राजेश भण्डारीले ‘अधुरो यात्रा’ नामक साङ्गीतिक कोसेली बजारमा ल्याउनुभएको छ । आफैले शब्द सिर्जना गर्नुभएका गायक भण्डारीले तिहारको सन्दर्भ पारेर ‘अधुरो यात्रा’ नामक लोकसंगित कोसेली बजारमा ल्याउनुभएको हो ।

लोक सङ्गीतको उर्वर भूमि स्याङ्जा आफैमा विभिन्न जातजातिको आ-आफ्नै कला र संस्कृतिले भरिपूर्ण छ । दाजु बहिनीको पिडादायक कथालाई जोडेर गायक भण्डारीले भिडियो र सङ्गीत भर्नुभएको छ ।

स्याङ्जा वालिङ ७ पैदीखोलाका गायक भण्डारी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला स्याङ्जाका सचिव पनि हुनुहुन्छ । स्याङ्जाको वालिङमा जन्मिनुभएका गायक भण्डारीले वालिङ नगरपालिका भित्रका विभिन्न क्षेत्रलाई समेटेर यो गीतको छायाङ्कन गर्नुभएको छ ।

सङ्गीत मार्फत दाजु बहिनीको माया प्रेम र जन्मगाँउलाई भिडियो मार्फत छायाङ्कन गरी चिनाउने भूमिका महत्त्वपूर्ण हुने विश्वास लिएर गीत बजारमा ल्याएको गायक भण्डारीले बताउनुभयो । भण्डारीको निर्देशनमा तयार पारिएको छायाङ्कनमा नव प्रतिभा शिला गोतामे, सृष्टि विश्वकर्मा, सलिना थापा वालिङका स्थानीय हुनुहुन्छ भने दाजु बनेर भिडियोमा खेल्नुभएका सूर्य पन्थी गुल्मीका हुनुहुन्छ ।

नव प्रतिभाको खोजी सँगै यसले कला क्षेत्रमा थप उत्साह थप्न टेवा पुगेको पन्थीले बताउनुभयो । उक्त भिडियोमा दाजु, बहिनी पागल भएको देखाइएको छ ।

गीतको बोल अनुसार बहिनी मन्दिरमा पूजा गर्न जाँदा जबरजस्तीमा पर्नेछन् । बहिनीको त्यो अवस्था दाजुले देख्न नसक्ने हुन्छ । बहिनीलाई बचाउन जाँदा दाजु आक्रमणमा परेर घाइते भएको मार्मिक कहानी यसमा समावेश गरिएको छ । उपचार पछि दाजु मानसिक रोगी भएको दृश्य देखाइएको छ । दाजु सँगै बहिनी पनि पछि मानसिक रोगी बन्ने छन् ।

यसैमा आधारित रहेर दाजु बहिनीको जीवनमा ‘अधुरो यात्रा’ बनाइएको छ । दाजुको अभिनय सूर्य पन्थीले गर्नुभएको छ भने बहिनीको अभिनय शिला गोतामेले गर्नुभएको छ । त्यस्तै डाक्टरको अभिनय सृष्टि विश्वकर्माले र नर्सको अभिनय सलिना थापाले गर्नुभएको छ ।

उक्त सङ्गीतमा भण्डारीको एकल स्वर रहेको छ भने भिडियो मिक्सिङ नरेश पाण्डेले गर्नुभएको छ । यस गीत मार्फत दाजु बहिनी प्रति हुने मायाका बारेमा प्रष्ट रुपमा देखाउन खोजीएको छ । तिहार दाजु भाइ, दिदी बहिनीको चाड भएकाले मौसम सुहाउँदो गीत बजारमा आएको अनुमान दर्शक, श्रोताको छ ।