भूकम्पको थिलथिलो, ६ वर्षपछि पहिरो 

14
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

२०७२ सालको भूकम्पले थिलथिलो पारेको जमिन बग्न थालेको छ । पानी नपरेको समयमा समेत जमिन बग्न थालेपछि स्थानीय चिन्तित बनेका छन् । भूगर्भविद्हरूले भूकम्प गएको केही वर्षसम्म जमिन बग्न सक्ने चेतावनी दिएका थिए ।

पछिल्लो समय बेथान्चोक गाउँपालिका वडा नम्बर १ को च्याम्ब्राङ्गबेशी र महाभारत गाउँपालिकाको वडा नम्बर ४ मा गएको पहिरोका कारण सर्वसाधारण त्रसित भएका छन् ।
 ‘२०७८ असोज ७ गते बिहान ७ बजेको समयमा भूकम्प गएकै जस्तो आवाजमा पहिरो गयो’–स्थानीय निरबहादुर मोक्तानले भन्नुभयो–‘विद्यालय भएको जमिन धाँजाधाँजा हुने गरी फाटेर भयङ्कर पहिरो गएको रहेछ । पहिरोका कारण विद्यालय बन्द भएको छ ।

विद्यालयको एउटा भवन पहिरोमा परेको छ ।’ २०५२ सालमा स्थापना भएको साबिक बुढाखानी गाविसको बुढाखानी निलकष्ठ प्रावि महाभारत ४ को विद्यालय भवन पहिरोका कारण बन्द हुन पुगेको छ । तत्कालीन समयमा निर्माण भएको भवन र ट्रष्ट मार्फत निर्माण गरिएका दुवै भवन पहिरोले भत्काएका छन् ।

विद्यालय रहेको जमिन नै नरहे पछि अभिभावकहरूले बालबालिकाहरु विद्यालय पठाउने अवस्था छैन । नजिकै विद्यालय नभएकाले बालबालिकाहरूले पढ्ने अवसर समेत पाएका छैनन् ।

एक महिना देखि विद्यालय बन्द भएकाले स्थानीय सरकारले खुलाउने प्रयास गरे पनि सम्भव नभएको विद्यालय व्यवस्थापन समितिका सदस्य हिराबहादुर लामाले बताउनु भयो । तिहार लगत्तै विद्यालय खुलाउने प्रयास भए पनि तत्काल सुरक्षा मापदण्ड अपनाउन सकिएन भने ठुला ठुला खाडल र पहिरोको जोखिममा बालबालिकाहरू पर्नेछन् ।

स्थानीयहरूले भूकम्पका कारण जमिन फाटेको र फाटेको जमिन भित्र पानी परेकाले पहिरो गएको हो । भूकम्पले जमिन थिलथिलो पारेकाले बस्न योग्य जमिन नभएकाले अन्यत्र बसोबास गर्नु भन्ने प्रतिवेदन तत्कालीन समयमा भूगर्भ विद्ले दिएको भए पनि बेथान्चोक १ च्याम्राङ्गबेशीमा त्यही स्थानमा भूकम्प प्रतिरोधात्मक घरहरू निर्माण गरिएका छन् ।

२०७८ असोज १९ गते साँझ ५ बजेबाट निरन्तर सुख्खा पहिरोका कारण ललितपुर तथा काभ्रेका विभिन्न स्थानमा जाने सडक अवरोध भएको छ । २ सय मिटर भन्दा धेरै लामो पहिरो गएकाले सडक केही दिन बन्द हुन पुग्यो ।

उक्त सडक खुलाउन तत्काल नसके पछि स्थानीय सरकार बेथान्चोक गाउँपालिकाले अन्यत्रबाट सडक सञ्चालन गरेको थियो । उक्त सडको ग्रेडिङ नमिलेको र भरपर्दो समेत नभएकाले जति बेला पनि अवरोध हुन सक्ने भए पनि तत्कालका लागि सुचारु गरिएको अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले बताउनु भयो ।

उक्त पहिरो नजिक बस्ती नभए पनि लामो पहिरोले पारेको अवरोध र हुन सक्ने सम्भावित क्षति रोक्न गाउँपालिकाले भूगर्भ विद्सँग परामर्श गरिरहेको अध्यक्ष तिमल्सिनाले बताउनु भयो । पहिरोको माथि बेथान्चोक नारायणस्थान तथा त्यही बाटो हुँदै जाने पदमार्ग लगायतका संरचनाहरूमा समेत असर पु¥याउन सक्ने बताईएको छ ।
भूकम्पले थिलथिलो पारेको जमिनमा पानी प्रवेश गरी जमिन फाटेकाले सुख्खा पहिरो आएको हुन सक्ने प्राविधिकहरूले बताएका छन् । उक्त पहिरोको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको नेतृत्वमा जिल्लाको सुरक्षा निकाय तथा विभिन्न सरोकारवाला कार्यालयहरूका प्रतिनिधिहिरुले अवलोकन गरी थप क्षति हुन नदिन सरोकारवाला निकायलाई सचेत गराउने र त्यसको रोकथामका लागि आवश्यक कार्य गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनु भयो ।