ईटाभट्टा सञ्चालनमा रोक लगाउँन स्थानीयको अनुरोध


भद्रपुर ।

झापा हल्दिबारी गाउँपालिका वडा नं.१ मा स्थानीयले तीब्र विरोध गर्दागर्दै चारपाने १ मा दर्ता भएको ईटाभट्टालाई जबरजस्ती पेलेर हल्दीबारी १ गोलधापमा पुनः संचालन गर्न लागिएको छ ।

जसबाट स्थानीय बासिन्दा प्रतिकुल असर पर्ने भएपछि बिस्थापनको जोखिममा परेका छन् ।हाल हल्दिबारी १, साविक गोलधाप ८ मा संचालन गर्न लागिएको उक्त भट्टा गाउँपालिका कार्यालय र वडा कार्यालयको मिलेमतोमा राख्ने काम भएको स्थानीयको आरोप छ । स्थानीयहरुको विरोधका बावजुद उनीहरुको जनस्वास्थ्यलाई प्रत्यक्ष असर पर्नेगरी पेलेर इटाभट्टा संचालन गर्न खोज्दा मुठभेडको खतरा हुन सक्ने देखिएको छ ।विगत केही महिनादेखि स्थानीयहरु निरन्तर सो इटाभट्टाको विरुद्धमा उत्रिएका छन् । चारपाने १ मा दर्ता भएको नमूना ईटाभट्टा, संचालन भने हल्दिबारीमा गर्न लागेका छन् । हल्दिवारी गाउँपालिकामा दर्ता भएको देखिदैन ।

त्यसैगरी वातावरण प्रभाव मूल्यांकन पनि गरिएको पाइदैन । तर, संचालकहरुले चारपाने १ मा दर्ता रहेको नमूना इटाभट्टाको शाखाको रुपमा हल्दिबारीमा सो इटाभट्टा खोलेको दावी गरेका छन् ।त्यस्तै हल्दिबारीमा संचालन गर्नका लागि नमूना इटाभट्टाको वातावरण प्रभाव मूल्यांकन गरिएको छैन । नेशनल ब्रिक इन्डष्ट्रिजको नाममा गरिएको वातावरण प्रभाव मूल्यांकनको निहुँ पारेर संचालकहरुले हल्दिबारीमा नमूना इटाभट्टा संचालन गर्न लागेका हुन् । बन्द रहेको उक्त भट्टालाई हाल आएर पुनः संचालन गर्न लागिएको हो । भट्टाको साँध सिमाना भएका सधियार र भट्टाले प्रतिकुल असर पार्ने क्षेत्रका सम्पूर्ण व्यक्तिहरुसँग कुनै स्वीकृति नलिई घरेलु तथा साना उद्योग कार्यालयमा दर्तासमेत नगरी पुनः सो भट्टा संचालन गर्न लागिएको स्थानीय हेम गिरीले जानकारी दिनुभयो ।

मानव बस्तीसँगै विद्यालय, अस्पताललाई प्रतिकुल असर पार्ने भएपछि विभिन्न निकायमा निवेदन दिएको उहाँले जानकारी दिनुभयो । सधियारसहित २२ जनाले गत असोज १५ गते हल्दिबारी गाउँपालिकाको न्यायिक समितिमा भट्टा संचालन हुन नदिन निवेदन दिएका थिए । त्यसअघि उनीहरुले वडा कार्यालयको पनि ध्यानाकर्षण गराएका थिए । तर, वडा कार्यालय र गाउँपालिका कार्यालयसमेतले जनस्वास्थ्यमा प्रत्यक्ष असर पार्ने इटाभट्टा सञ्चालनमा रोक लगाउनेतर्फ चासो नदेखाएको स्थानीयको आरोप छ ।

वडा अध्यक्षको समेत मिलेमतो रहेको स्थानीयको आरोप छ । ‘ यतिका वडाबासी विरुद्धमा उत्रिरहँदा उहाँ वास्ता गर्नु हुन्न’ हेम गिरीले भन्नुभयोे ‘भट्टा चलाउनकै लागि लागिपर्नु भएको छ ।’ स्थानीय सरकारको रुपमा रहेको वडा कार्यालय र गाउँपालिका कार्यालयले भट्टा संचालकलाई नै साथ दिएपछि स्थानीयले जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयमा निवेदन दिएका छन् ।स्थानीयलाई उठिवास लगाउने गरी खोलिने भट्टा रोक्न जुनसुकै निकायमा जान बाध्य हुने स्थानीय राजकुमार लिङ्खिमले बताउँनुभयो ।‘यतिका मानिसहरुको स्वास्थ्यसँग खेलवाड हुँदैछ’उहाँले भन्नुभयो । ‘हामी जस्तोसुकै आन्दोलन गर्न तयार छौं ।’ आफूहरु संघर्ष समिति गठन गरी आन्दोलनमा जाने उहाँले जानकारी दिनुभयो । ‘मापदण्ड विपरित भट्टाका सञ्चालकले सबै स्थानिय बासीलाई विस्तारै गाल्दै लाने र अवैध रूपमा भट्टा संचालन गर्ने नजिर बसाल्न खोजिदैछ ।’ उहाँले भन्नुभयो ।