न्यायिक क्षेत्रमा दुर्भाग्य



नेपालमा १२ हजारभन्दा बढी कानुन व्यवसायी छन् । यो संख्या मुलुकमा रहेका पत्रकारको जस्तै हो । कतिले पत्रकारलाई राज्यको चौथो अंग भन्छन् भने कानुन व्यवसायीलाई पाँचौं अंग । यी चौथो र पाँचौं अंग मुलुकका तीन प्रमुख अंगका निगरानीकर्ताहरु हुन् । नागरिक समाजका प्रभावशाली स्तम्भहरु हुन् । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामा भएका कमजोरीका बारेमा खोजी गर्ने र आवाज उठाउने काम उनीहरुबाट हुन्छ, हुनुपर्छ । तर, अनुगमनकारी निकायहरुबीच नै कुटाकुट भयो, असहिष्णुता देखियो र फोहोरी आहालमा डुबुल्की मार्ने काम भयो भने आम नागरिकमा व्यापक निराशा छाउँछ ।

कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनमा कानुन व्यवसायीहरुबीच शुक्रबार हातपात भएको सचित्र समाचार मूलधारका सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म अहिले ‘भाइरल’ भएको अवस्था छ । नेपाल बार एसोसिएसनमा बैठक जारी रहँदा परिसरमा कानुन व्यवसायी एवं अधिवक्ता भूमिनन्द चुडाललाई अर्का अधिवक्ता विराट न्यौपानेले एक्कासि आक्रमण गरे, मुक्का हाने, लात्ती प्रहार गरे, झापडको चोट प्रत्यक्ष देखियो । सर्वोच्च अदालतमा इजलास सञ्चालन हुनुपर्र्छ भन्दै विभिन्न सञ्चारमाध्यमहरुलाई अन्तर्वार्ता दिइरहेका चुडाललाई अर्का अधिवक्ता न्यौपानेले उनीमाथि कुटपिट गरेका हुन् ।

इजलास नचल्दा सेवाग्राही मर्कामा परेको भनेर अन्तर्वार्ता दिइरहेको बेलामा आफूमाथि न्यौपानेले कुटपिट गरेको चुडालको स्पष्टोक्ति छ । मिडियामा न्यायालयविरुद्ध किन बोलिस् र द्वन्द्वकालका मुद्दा किन हेरिस् भन्दै हात हालेको भनाइ पिटाइखाने चुडालको छ भने बारको आन्दोलनविरुद्ध किन बोलिस् भन्ने आक्रोश पिट्ने न्यौपानेको छ । न्यौपानेले विवादास्पद प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको विरोधमा सिंगो बारले चार दिने अल्टिमेटम दिएर राजीनामा मागिरहेको र सशक्त आन्दोलन गरिरहेका बेला कुटाकुट भएको हो । मोटाघाटा न्यौपानेले दुब्लापातला चुडाललाई शारीरिकरूपमा पनि हेपेको देखिन्छ । न्यौपानेले चुडाललाई तानेर उनको कोट पनि च्यात्तिएका छन् । बहस गर्न आएका चुडालले आन्दोलनका कारण १४ न्यायाधीश इजलासमा उपस्थित नभइदिंदा आफ्नो बहस रोकियो, आम्दानी हुनछोड्यो, जनताका मुद्दा पनि पेन्डिङ भए भन्ने चिन्ताका कारण इजलास बस्नैपर्ने हो भनेर आफ्नो विचार राख्दा हातपात नै गर्नु दुर्भाग्यपूर्ण हो भन्ने भनाइ चुडाल पक्षको छ । २०६२ सालमा चार जनाविरुद्ध सरकारले आतंककारी गतिविधिमा संलग्न भन्दै मुद्दा चलाएको र उक्त मुद्दामा चुडालले विपक्षीको तर्फबाट बहस गरेका कारण पनि न्यौपाने आक्रोशित रहेको अर्को पक्षको भनाइ छ ।

भनाइ आ–आफ्ना छन् तर अभिव्यक्ति स्वतन्त्रता भएको मुलुकमा बोलेकै कारण कसैले पिटिनुपर्छ भने यसलाई कुनै पनि तर्क दिएर स्वाभाविक मान्न सकिन्न । न्यायपालिकाभित्रको आजको विवादमा चुडाल–न्यौपाने हातपात ‘टेलरिङ’ मात्र हो भन्ने विश्लेषण पनि एकथरीको छ । आन्दोलनकारी र संस्थापन पक्षबीच अझ बढी झगडाको सम्भावना देख्छन्, न्यायपालिका खण्डीकृत हुने त्रास बढेको बताउँछन् विज्ञहरु । ‘भ्रष्टाचार गरेर परमादेशबाट एमालेको सरकार गिराएको, पार्टी फुटाएको’ प्रमाणित नै भए पनि मिडियामा अभिव्यक्ति दिएकै कारणले कसैमाथि आक्रमण गर्न पाइन्न, पीडितलाई सुरक्षा प्रदान गर्नु सरकारको दायित्व हो भन्ने सत्य बिर्सन मिल्दैन ।

प्रतिक्रिया दिनुहोस्