अलमलमा कांग्रेस



दुई वर्षअघि १४औं महाधिवेशन गर्ने भनी पहिलोपटक कार्यतालिका सार्वजनिक गरेको प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले अहिलेसम्म चारपटक महाधिवेशनको कार्यतालिका हेरफेर गरिसकेको छ । मंसिर ९ देखि १३ सम्म महाधिवेशन गर्नेगरी तय गरिएको पछिल्लो कार्यतालिका प्रभावित भएपछि पाचौंपटक महाधिवेशनको नयाँ कार्यतालका बनाउने गृहकार्यमा कांग्रेस जुटेको छ । पार्टी विधान र संविधानअनुसार १३ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको मिति गुज्रिएको छ । केन्द्रदेखि गाउँ तहसम्म गुट–उपगुटमा विभाजित कांग्रेसभित्र नेतृत्वका आकांक्षी शीर्ष नेताहरूको जुँगाको लडाइँले सिङ्गो पार्टी लथालिङ्ग अवस्थामा छ । भदौ १८ देखि वडा अधिवेशनको सुरुआत गरेको यो पार्टीले अहिलेसम्म ४७ जिल्लामा मात्र पालिकासम्मको अधिवेशन सम्पन्न गरेको छ भने १३ वटा जिल्ला अधिवेशन सम्पन्न गरेको छ । केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधिको छनोट हुने क्षेत्रीय अधिवेशन भने १४ वटा क्षेत्रमा मात्र सम्पन्न भएको छ । प्रदेश २ लगायत १३ जिल्लामा त अधिवेशन प्रक्रिया नै अघि बढ्न सकेको छैन ।

स्थानीय, प्रदेश र संघको निर्वाचन नजिकिँदै छ । वैशाखमा गर्नुपर्ने स्थानीय तहको निर्वाचनको मिति नजिकिएको छ । निर्वाचन नजिकिएसँगै पार्टी संगठन चुस्त दुरुस्त राख्ने कुरा राजनीतिक दलको सबैभन्दा महत्वपूर्ण कार्य हो । लामो तयारीका बाबजुद पनि सत्तारूढ दल महाधिवेशन प्रक्रियामा अल्झिरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने फटाफट अधिवेशन प्रक्रिया अघि बढाएको छ । छोटो समयमै फटाफट वडा र पालिकासम्मको अधिवेशन गरेको नेकपा एमाले पार्टी संगठन निर्माणमा कांग्रेसभन्दा आक्रमक ढंगले अघि बढेको देखिएको छ । १० लाखको हाराहारीमा क्रियाशील सदस्य रहेको प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस र यति नै संख्यामा संगठित सदस्य रहेको प्रमुख प्रतिपक्षी दल एमालेको महाधिवेशन र महाधिवेशनबाट आउने नेतृत्वलाई आम चासोका रूपमा पनि हेरिएको छ । समयमै अधिवेशन, महाधिवेशन गरी पार्टी संगठनलाई चुस्त दुरुस्त राख्ने कुरा पार्टी नेतृत्वको अहम जिम्मेवारी पनि हो । यस सन्दर्भमा नेपाली कांग्रेस चुक्दै गएको छ ।

राष्ट्रिय राजनीतिमा सधैं केन्द्रविन्दुमा रहेको कांग्रेसभित्रको आन्तरिक द्वन्द्वले महाधिवेशन प्रभावित भएपछि यसको असर आगामी निर्वाचनमा पर्ने देखिन्छ । गत निर्वाचनमा लज्जाजनक हार व्यहोरेको कांग्रेसले आगामी निर्वाचनमा सानदार जित हासिल गर्न सक्ने धेरै आधारहरू थिए । पार्टी संगठन बलियो बनाउने, जनभावनाअनुसार राज्यसत्ता सञ्चालन गर्नेजस्ता कार्य गर्दै देखिएका सबै चुनौतीलाई अवसरको रूपमा अघि बढाउँदै लैजानुपर्ने कांग्रेसले एमाले पार्टी विभाजनको फाइदा आगामी निर्वाचनमा लिनसक्थ्यो । तर, विडम्बना आन्तरिक विवाद, गुट–उपगुटका कारण निर्धारित समयमा महाधिवेशन सम्पन्न गर्न पनि महाभारतको युद्ध जितेभन्दा बढी सकसमै रहनुपरेको छ । अहिले राष्ट्रिय राजनीतिमा नसोचेको अवसर पाएको कांग्रेसले आगामी निर्वाचनमा विजय हासिल गर्न पार्टी संगठन चुस्त दुरुस्त राख्नु जरुरी छ । यसका लागि पहिलो काम छिटोभन्दा छिटो महाधिवेशन सम्पन्न गर्नु पर्दछ । यसमा पार्टी नेतृत्वको विशेष ध्यान जानु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्