ड्राइभिङ लाइसेन्समा नयाँ व्यवस्था



कोरोना संक्रमणको असर आम नागरिकको जीवनमा कति भयावह रह्यो भन्ने समीक्षाका लागि सवारी चालक अनुमतिपत्रका लागि एकैदिन नौ लाखले चासो देखाएको समाचारले बताउँछ । दैनिक पाँच हजार निवेदकले ट्रायल परीक्षा दिनेगरी तयारी गर्नुपरेका कारण पनि जनतामा परेको असर अभिव्यक्त हुन्छ । यातायात व्यवस्था विभागले कोभिड–१९ का कारण स्थगित गरेको नयाँ सवारी चालक अनुमतिपत्रको आवेदन खुला गरेपछि एक प्रकारले विभागमा जलभण्डार फुटेसरह सेवाग्राहीहरू ओइरिने अवस्था आएको छ ।

लामो समय आवेदन रोकिएका कारण एकैपटक लाखौंले आवेदन दिनु अस्वाभाविक पनि होइन । ट्रायल परीक्षालाई सहज बनाउने, आवेदन दिएकाहरूले धेरै समय कुर्न नपर्ने गरी व्यवस्था गरेको जनाइएको छ । विभागले गत भदौ ३० गतेदेखि मुलुकका विभिन्न २१ कार्यालयमार्फत दैनिक ५ हजार नयाँ चालकको ट्रायल परीक्षा लिँदै आएको बताइए पनि व्यक्तिगत पहुँचवालाले नै सुविधा पाउने अवस्था भने मेटिएको छैन । चालक अनुमतिपत्रका लागि आवेदन दिने नयाँ सेवाग्राहीहरूले अब विभागले ल्याएको अंकभार प्रणालीअनुसार परीक्षा दिन पाउने छन् । नयाँ व्यवस्थाअनुसार लिखित परीक्षामा अब चार–चार नम्बरका २५ प्रश्न सोध्ने व्यवस्था गरिएको छ भने ती प्रश्नको अंकभार सय दिइएको छ । नयाँ व्यवस्थाअनुसार लिखित परीक्षामा ६० अंक ल्याउनेले ट्रायल दिन पाउने छन् । यसै प्रावधानलाई सहजीकरण गर्न विभागले परीक्षाका लागि पाँच सय वस्तुगत प्रश्नको संग्रहसमेत सार्वजनिक गरेको छ । त्यसभित्रैबाट प्रश्न सोधिने भएकाले परीक्षार्थीलाई सहज हुने विश्वास गर्न सकिन्छ । लिखित परीक्षाको अवधि जम्मा ३० मिनेटको हुने, पूर्णाङ्क १०० हुने, लिखितमा उत्तीर्ण भएको भोलिपल्ट अथवा तोकिएको मितिमा चालकले ट्रायलको लागि सम्बन्धित ट्रायल सेन्टर अथवा यातायात व्यवस्था कार्यालयमा उपस्थित हुनुपर्ने आदि व्यवस्था छ । ट्रायल पास गरेसँगै सोही ठाउँबाटै चालकले परीक्षणकालीन लाइसेन्स प्राप्त गर्ने व्यवस्था पनि गरिएको छ । तर, परीक्षणकालीन लाइसेन्सको अवधिभरमा यदि चालक पाँच पटकभन्दा बढी कारबाहीमा पर्छ भने उसले स्मार्ट लाइसेन्स नपाउने प्रावधान पनि बनाइएको छ । एक वर्षको परीक्षणकालीन लाइसेन्सपछि भने चालकले चार वर्ष अवधिको स्मार्ट लाइसेन्स प्राप्त गर्नेछ । हाल देशभर झन्डै साढे तीनदेखि ४ लाखले ट्रायल परीक्षा दिन बाँकी रहेको बताइएको छ । विभागले अहिलेको हिसाबमा काठमाडौंबाट लाइसेन्स निकाल्न परीक्षा दिने आवेदकहरूको परीक्षा पालो अबको ३ देखि ४ महिनापछि आउने छ भने काठमाडौं बाहिरका जिल्लामा भने नयाँ आवेदकहरूको लाइसेन्स लिने प्रक्रिया १५ दिनभित्रै शुरू हुने छ ।

नेपालमा प्रगतिशील व्यवस्थापनका लागि राम्रा नियम बनेका उदाहरणहरू कम छैनन्, तर समस्या कार्यान्वयनमा छ । शक्ति र सामथ्र्यका आधारमा नियमले काम गर्ने भएका कारण मुलुकका कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकासमेत स्खलित देखिन्छन् । यस्तो बेला यातायात व्यवस्था विभागले कति चुस्त–दुरुस्त किसिमले नियम कार्यान्वयन गर्ला, आशंका बाँकी छ । तर, पनि शुभकामना भने दिनैपर्छ – सबै सेवाग्राहीले सहज ढंगले र दलाल तथा घुसखोरीहरूको सञ्जालमा नपरी चालक अनुमतिपत्र प्राप्त गर्न सकून् !

प्रतिक्रिया दिनुहोस्