सवारीसाधनमा चढ्दा संयमित बनौँ



नेपालमा चाडपर्वको मौसम चलिरहेको छ । यस्तो बेला रमाउने, पारिवारिक जमघटलगायतका कार्य धेरै हुने गर्छन् । दशैँको बेलामा देशका विभिन्न स्थानमा केही डरलाग्दा दुर्घटनाहरु भएका समाचार सुनिए, जुन निकै दुःखद छ । यस्ता समाचार प्रायः चाडपर्वमा सुन्ने गरिएकै छ । यसका लागि हामी नेपालीहरु सचेत बनेको खासै देखिँदैन ।

सानो लापर्वाहीले, सानो असावधानी र सानो बेहोसीले ठूलो पीडा सहनुपरेका घटना हामी सबैलाई थाहा छ । खानपिनका बेला प्रदर्शन गरिने अनुशासन, साथीभाइले हौस्याउने मात्र होइन सावधान पनि गर्ने परिपाटीले नै यो दुर्घटनालाई कम गर्न सकिनेछ ।

यस्तै बिदाको समयमा लङ ड्राइभमा पूरै परिवारका साथ, साथीभाइको ठूलै टोलीसमेत मिलेर रमाइलो गर्न हामी निस्कछौं । खानपान र रमाइलोका बीच हामी सडक सुरक्षाका मापदण्डहरुलाई बिर्सिरहेका हुन्छौं । हामी रमाइलो गर्दै छौं भनेर के सडकमा आउने सम्भावित खतराहरुले हामीलाई छाडिदिन्छन् त ? पक्कै पनि यस्तो सम्भावित सडकमा देखिने खतराको अवस्थामा हाम्रो अझ बढी भूमिका हुन्छ । तर, हाम्रो ध्यान सडकमा छैन भने दुर्घटना अवश्यम्भावी छ ।

यस्तो दुर्घटनाले आफ्नो मात्र होइन, सडकमा हिँड्ने अरुको समेत सुरक्षामा गम्भीर चुनौती खडा गर्न सक्छ । यस्तो बेला केही निश्चित नियम हामीले पालना गर्नै पर्छ । सडकमा तोकिएको भन्दा बढी गतिमा कहिल्यै सवारी चलाउन हुँदैन । क्यामेरा छैन, सडकमा प्रहरी छैन भन्दैमा गाडी दौडायौं भने त्यसले गम्भीर दुर्घटना निम्त्याउन सक्छ । एकैछिन् अघिको रमाइलो एकैछिन् पनि रुवाबासीमा परिणत हुन्छ । यसै कारण सबैभन्दा पहिलो सर्त भनेकै गतिको अनुशासन कायम गर्ने हो । यस्तै लामो दूरीमा यात्रा गर्दा भरपर्दो यातायातको साधन छनोट पनि महत्वपूर्ण हुन्छ ।

यसै गरी हामीले गाडीमा नै ठूलो–ठूलो स्वरमा गीत बजाउँदै–गाउँदै ड्राइभिङ गर्ने मानिसलाई समेत यस क्रियाकलापमा संलग्न गराउँदै अघि बढेका छौं भने यसले दुर्घटनाको प्रतिशतलाई ह्वात्तै बढाइदिन्छ । सडक नियमको पूर्णतः पालना सुरक्षाको निम्ति पहिलो सर्त हो । यो सर्तलाई हामीले कहिल्यै नभुलौं । असावधानीका कारणले अकालमा कसैको पनि ज्यान नजाओस् ।

– निमा खड्का, मकवानपुर ।

नेपालमा देखिएको बेमौसमी प्रकोपको जोखिम

केही अघि नेपालमा सयौँको ज्यान जाने गरी बाढी, पहिरो र डुबान भयो । नेपालमा अर्बौँको क्षति भएको छ । किसानले दुःख गरेर घर भित्र्याउन खोजेको धानबाली खेतमै सोत्तर भयो । यो घडीमा हामी जनता रनभुल्लमा परेका छौँ । नेपालमा बाढीपहिरो, हुरीबतास, आगलागी, भुइँचालो, हिमताल विष्फोट, खडेरी, महामारी, शीतलहरजस्ता घटनाले जनधनको क्षति गर्ने भएकाले यस्ता घटनालाई नै प्रकोपजन्य घटना मानिन्छ ।

कल्पना नै नगरिएको समयमा शताब्दीयताकै उच्च वर्षा र बाढी आउनुमा प्रकृतिलाई मानिसहरुले गरिरहेको बेवास्ता मुख्य कारण हो । जलवायु परिवर्तनको विषयमा हामी सचेत छैनौँ । यस विषयमा हामी मात्रै सचेत बनेर हुँदैन । समग्र विश्वका मानिसहरु यस विषयमा गम्भीर बन्नै पर्ने हुन्छ ।

नेपाल बहुप्रकोपीय जोखिम भएको देश हो । त्यसैले आजभोलि विभिन्न पत्रपत्रिकाको मुख्य पृष्ठका समाचारमा बाढीपहिरोको समाचार हेर्न र पढ्न पाइन्छ । लगातारको वर्षाले देशका विभिन्न ठाउँमा भौतिक क्षति भएको छ । जोखिम न्यूनीकरण तथा पूर्वतयारीमा पर्याप्त लगानी र चासो कम हुनु, जनचेतनाको अभावजस्ता कारणहरूले गर्दा विभिन्न खालका प्रकोपहरूबाट हुने आर्थिक तथा मानवीय क्षति बढिरहेको अवस्था छ । वि.सं. २०७२ को भूकम्पीय ध्वंश तथा त्यसपछिका प्राकृतिक विपत्तिअघिको तथ्यांक पनि डरलाग्दो नै छ ।

विपद्बाट बर्सेनि झन्डै अर्बौंको आर्थिक क्षति हुन्छ । प्राकृतिक तथा मानवजन्य विपत्तिको फलस्वरूप हुने आर्थिक क्षतिका कारण देशको वार्षिक कुल गार्हस्थ्य उत्पादनमा नोक्सानी हुने गरेको छ । जनसंख्याको अनुपातमा नेपालमा विपद्बाट हुने मानवीय क्षति विश्वमै उल्लेखनीय छ । दक्षिण एसियाका मुलुकहरूमध्येमा त सबैभन्दा बढी रहेको तथ्यांकले देखाउँछ । आर्थिक तथा भौतिक क्षतिका हिसाबले पनि नेपाल अग्रस्थानमै छ र यो बर्सेनि बढ्ने क्रममा पनि छ । यसरी प्रकोपजन्य घटनाका कारण हुने आर्थिक र मानवीय क्षति आफैँमा आर्थिक विकासमा ठूलो चुनौती हो । सीमित स्रोत र साधनबाट धेरै विकासका काम गर्नुपर्ने नेपालजस्तो मुलुकका लागि विपद्बाट हुने क्षति न्यूनीकरणमा ध्यान दिन सकिएन भने यो विकास प्रक्रियामै ठूलो बाधकका रूपमा खडा हुनेछ ।

मौसमजन्य, भौगर्भिक, जैविक तथा जलवायु परिवर्तनको जोखिमको दृष्टिकोणबाट निकै संकटापन्न अवस्थामा रहेको नेपालमा पछिल्ला वर्षहरू प्राकृतिक विपद्का दृष्टिले निकै भयावह साबित भएका छन् । हजारौँको ज्यान लिने भूकम्प, गाउँ नै पुर्ने पहिरो, बाढी, डढेलो, खडेरीजस्ता प्राकृतिक विपत्तिहरूले एकपछि अर्को गर्दै नेपाललाई पिरोलिरहेका छन्, जसका कारण ठूलो जनधन तथा पर्यावरणीय र भौतिक क्षतिको सामना गरिरहनुपरेको छ देशले ।

हिमालय क्षेत्रको कमजोर भौगोलिक बनावट, भारतीय तथा तिब्बतीयन प्लेटको बीचमा पर्ने भूकम्पीय दृष्टिले निकै जोखिमपूर्ण भौगर्भिक संरचनालगायतका कारणले नेपाल प्रकोपको उच्च जोखिममा रहेको हो । नेपालमा प्रकोप संकटापन्न पक्ष आफैँमा संवेदनशील छ, तर त्योभन्दा भयानक विषय भनेको विपद्को कारण हुने क्षतिको दर निकै उच्च हुनु हो । प्राकृतिक प्रकोपहरू स्वचालित घटनाक्रम हुनुका नाताले यिनलाई रोक्न नसकिने भए पनि यसबाट हुने क्षति घटाउन सकिन्छ । त्यस्तै, मानवजन्य प्रकोपहरूको नियन्त्रण मानिसकै हातमा हुन्छ ।

विकास प्रक्रियामा विपद् व्यवस्थापनको विषयलाई आबद्ध गर्ने, विपद् व्यवस्थापनको विषयलाई गरिबी निवारण र सामुदायिक सशक्तीकरणसँग जोड्ने, वातावरण संरक्षण तथा स्रोतको दिगो उपयोगजस्ता विषयमा जनचेतना वृद्धि गर्ने र राहत तथा उद्धारमुखीभन्दा पनि प्रकोप सुरक्षा र पूर्वतयारीका विषयमा राज्यका निकायहरू केन्द्रित हुने हो भने विपद्बाट हुने क्षति घटाउन सकिन्छ ।

हामी प्राकृतिक प्रकोपको उच्च जोखिममा रहे पनि जोखिमबाट बच्ने र क्षतिलाई न्यूनीकरण गर्ने उपायका बारेमा अनभिज्ञ छौँ । त्यसैले, प्रकृतिको खेल भनी प्रकोप सहनु हाम्रो बाध्यता बनिरहेको छ । हामीले प्राकृतिक प्रकोपलाई पूर्णरूपमा रोक्न नसके पनि पूर्वतयारी र सावधानी अपनाउने हो भने क्षति न्यूनीकरण गर्न सक्छौँ । जनचेतना जगाउने हो भने मानवीय कारणले गर्दा हुने प्राकृतिक विपत्तिको दर पनि कम गर्न सकिन्छ । यसका लागि सम्बन्धित निकायले विपत्तिपछि राहत बाँड्न दौडिनेभन्दा प्रकोपको जोखिम कम गर्ने, क्षति घटाउनेलगायतका पूर्वतयारीका उपायमा ध्यान केन्द्रित गर्नुपर्छ ।

– सुरज कार्की, सिन्धुपाल्चोक ।

प्रतिक्रिया दिनुहोस्