उत्पादन र बजारमा जोड दिन नगरवासीलाई आग्रह



अमृत अर्याल, स्याङ्जा ।

वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बस्तु उत्पादनमा जोड दिन आग्रह गर्नुहुँदै उत्पादित बस्तुको बजारीकरणका लागि नगरपालिकाले पहल गर्ने बताउनुभएको छ ।

वालिङ नगरपालिका, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको आर्थिक सहयोग तथा दियालो संस्थाको ब्यवस्थापनमा सञ्चालित कुमाल समुदायका महिलाहरुका लागि लक्षित कोभिड १९ उद्दार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना ब्यवसायिक सिलाई कटाई तालीमको उद्घाटन गर्नुहुँदै उक्त धारणा ब्यक्त गर्नुभएको हो ।

विशेष गरेर महिला दिदीबहिनीहरुलाई सीप सिक्न अनुरोध गर्नुहुँदै खाँणले सिकेको सीपलाई ब्यवसायिकरुपमा लगाएर आर्थिक लाभ लिन पनि सुझाव दिनुभयो । “तपाईहरुले सीप सिकेपश्चात सिकेको सीपलाई भरपूर प्रयोग गरी ब्यवसाय थाल्नुहोस् र उत्पादनमा जोड दिनुहोस्” प्रमुख खाँणले भन्नुभयो, “उत्पादित बस्तुको बजारीकरणका लागि आवश्यक पहल नगरले लिन्छ ।”वालिङ नगरपालिकाका १४ वटै वडामा उत्पादित पहिचानका सामग्रीहरुको प्रदर्शन र बिक्री वितरणका लागि नगरपालिकाले कोसेली घर निर्माण गरेको प्रमुख खाँणले बताउनुभयो ।

सीप सिकेपछि ब्यवसाय सञ्चालनका लागि रकमको अभाव भएमा नगरपालिकाले बिना धितो बीउ पूँजी उपलब्ध गराउनुकासाथै बैंकहरुसँग नगरपालिका जमानी बसेर सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउने प्रमुख खाँणले बताउनुभयो ।कार्यक्रममा दियालो संस्थाका अध्यक्ष कविता गैहले कुमाल समुदायका महिलाहरुको मागका आधारमा सिलाई कटाई तालीम सञ्चालन गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि थप कार्यक्रम तथा तालीमहरु सञ्चालन गर्ने बताउनुभयो ।

अनुदानवाट भन्दा बजारवाट आत्मनिर्भर हुन नगरवासीलाई गैह्रेले आग्रह गर्नुभएको छ । अनुदान पाउने भन्दा पनि बजारको सुनिश्चितका विषयमा कृषकले बढि जोड दिनुपर्ने उहाँको भनाइ छ ।कृषकको जीवनस्तर उकास्न नगरपालिकाले दिएको अनुदानको सहि सदुपयोग गरी आफ्नो उत्पादनलाई बजार सम्म पु-याउन सकेमात्र कृषकको आयस्रोत वढने हुँदा कृषकलाई त्यस तर्फ ध्यान दिन उपप्रमुख कल्पना तिवारीले आग्रह गर्नुभएको छ ।

अनुदानमुखी भन्दा पनि बजारमुखी कार्यक्रम सोच्नुपर्ने वेला आएकोले त्यसैमा नगरपालिकाले जोड दिइएको तिवारीले जानकारी दिनुभयो । पर्यटन र कृषि लाई जोड्नुको विकल्प नभएको उल्लेख गर्दै तिवारीले सम्बृद्व नगर निर्माणका लागि कृषि क्षेत्रलाई नै नगरले प्राथमिकतामा राखिएको जानकारी दिनुभयो । यसका लागि बाख्रा, अण्डा तथा बङ्गुरमा आत्मनिर्भर वनाउन समूह एवम् सहकारीसँगको समन्वय प्रभावकारी हुने तिवारीको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्