फुटपाथेदेखि राष्ट्रपति उम्मेदवार मेनी



मनिला, (एजेन्सी) ।

व्यावसायिक बक्सिङ जगतका चर्चित फिलिपिनो मुक्केबाज मेनी पक्याउले गत साता संन्यासको घोषणा गरे । आठ डिभिजन तौल समूहका विश्वविजेता पक्याउले गत मंगलवबार सामाजिक सञ्जालमार्फत १४ मिनेट २० सेकेन्डको भिडियो जारी गर्दै बक्सिङबाट संन्यासको घोषणा गरेका हुन् । ‘प्याकम्यान’ उपनामबाट समेत परिचित ४२ वर्षीय उनले उक्त भिडियोको अन्तमा ‘म बक्सिङबाट बिदा लिँदै छु, गुडबाई बक्सिङ’ भने । गत अगस्टमा उनले वेल्टर वेट च्याम्पियन योरडेनिस उगाससँगको भिडन्तमा हार बेहोरेका थिए । जुन अहिले उनको सक्रिय करियरको अन्तिम फाइटसमेत बनेको छ ।

उनी व्यावसायिक बक्सिङको विभिन्न आठवटा तौल डिभिजनका एक मात्र विजेता हुन् । दुई दशकभन्दा लामो व्यावसायिक बक्सिङ करियरमा ७२ वटा आधिकारिक फाइट खेलेका उनले ६२ वटामा जित हासिल गरेका छन् । जसमध्ये उनले ३९ पटक नकआउटको आधारमा खेल आफ्नो पक्षमा पारेका थिए । त्यस्तै, २३ फाइट अंक आधारमा जितेका उनले ८ वटामा पराजय र २ वटा फाइट बराबरीमा टुंग्याएका छन् । संन्यासको घोषणा गर्नु केही समयअघि उनले आगामी वर्ष हुने फिलिपिन्सको राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका थिए । मेनीले सत्तारुढ दल पीडीपी–लाबानबाट राष्ट्रपति निर्वाचनमा भाग लिँदैछन् । ४२ वर्षीय मेनी फिलिपिन्सको संसद्को सिनेटरसमेत हुन् ।

खेलकुदबाट राजनीतिमा प्रवेश गरेका मेनीको वर्तमान जति सुखद छ, विगत त्यति नै कष्टकर थियो । उनी धेरै गरिब थिए । चरम अभाव र गरिबीमा हुर्केका थिए । फिलिपिन्सको विकट ठाउँमा जन्मेका उनले बाँच्नका लागि निकै संघर्षपूर्ण जीवनयापन गरेका थिए । बाल्यकालका कयौं दिन त कहिले भोको पेट त कहिले दैनिक एकपटक मात्र खानु उनको दिनचर्या बनेको थियो । खाना नहुँदा कयौंपटक त पानी पिएर मात्र भए पनि आफ्नो पेट भरेका थिए उनले । सडकका पेटीमा कागजका बाकसलाई ओछ्यान बनाएर सुत्थे ।

उनको जीवनीमा आधारित वृत्तचित्र तथा लेखअनुसार पाँच वर्षको कलिलो उमेरमै उनले माछा मार्ने डुंगामा काम गर्नृुपरेको उल्लेख छ । सानैदेखि ठूलो सपना देख्ने उनमा भाग्यले होइन, कडा मेहनतले सपना सार्थक बनाउने हुने थियो । सायदै, उनको त्यही आत्मबलका कारण व्यावसायिक बक्सिङ रिङमा उनले ‘मै हुँ’ भन्ने एक से एक धुरन्धर मुक्केबाजलाई धूलो चटाएका छन् ।

उनले जीवनमा पहिलोपटक आफ्नो परिवारलाई गरिब र फोहोरी भनेर गिज्याउनेलाई पिटेका थिए । बक्सिङ रिङमा टेक्नुअघि नै आफू लडाकु रहेको भनेर उनले विभिन्न सञ्चार माध्यमहरूमा भन्ने गर्छन् । उनले आफ्नो करियरको शुरुआतको बारेमा बोल्दा विश्वचर्चित मार्सल आटर््स नायक बु्रस लीको नामलाई कहिल्यै छुटाउँदैनन् । वास्तवमा बु्रस लीका ‘डाई हार्ट‘ फ्यान हुन् उनी । ब्रुस लीका चलचित्रबाट प्रभावित भएर नै बक्सिङ रोजेको उनले भनेका छन् । जसलाई उनले आफ्नो करियरको टर्निंङ प्वाइन्टसमेत बनायो ।

उनले पनि ब्रुस लीले झैं शक्तिशाली र तीव्र गतिका मुक्काहरूको नक्कल गर्ने प्रयास गर्थे । आफ्नो वासस्थान वरपर रहेका केराको रूखमा मुक्का र लात वर्षाएर प्रशिक्षण गर्थे । ब्रुस लीको नक्कल गरेर प्रशिक्षण गर्नु उनमा पागलपन नै चढेको थियो । तर, आवश्यक पौष्टिक आहारको अभावका कारण भने उनको शरीरमा मांसपेंसीको विकास हुन सकेको थिएन । व्यायाममा लगाव भए पनि सही बनावटको अभाव प्रष्टिन्थ्यो उनको शरीरमा । सानो कदका भएर पनि धेरै दुब्लो थिए उनी । तर, शरीर धेरै ठूलो नभए पनि ढृढ़ संकल्पलाई ठूलो औजार मान्थे ।

१२ वर्षको छँदा ‘सर्दो’ नाम गरेका अंकलको नजरमा परेपछि उनको खेल करियरले नयाँ मोड लियो । बक्सिङको ज्ञान भए पनि ‘सर्दो’ एक अनुभवविहीन प्रशिक्षक थिए जसले मेनीलाई बक्सिङ खेलका बारेमा धेरै कुरा बताएका थिए । सर्दोले मेनीको आँखामा धैर्य र सफलताको भोक देखेका थिए र त्यसलाई नै उनले मेनीको सफलताको सिँढी बनाउन चाहन्थे ।

सोहीअनुरूप उनले मेनीलाई प्रशिक्षणमार्फत तिखार्दै लगे । मेनी हरेक बिहान ४ बजे नै जगिङ गर्न शुरू गरिसक्थे । पन्चिङका लागि कार्डबोर्डको बाकसमा कपडाहरू कोचाएर पन्चिङ ब्याग तयार पार्थे । उनी सजिलो प्रशिक्षण होइन कडा प्रशिक्षण गरौं भन्ने मान्यता राख्थे । त्यसैले, सर्दोको कुखुरा फार्मभित्र भत्भती पोल्ने गर्मीमा पनि पसिनाले लखतरान नहुन्जेल प्रशिक्षणलाई निरन्तरता दिन्थे । जसलाई उनले आफ्नो दिनचर्या नै बनाएका थिए ।

सर्दो र उनी भीसीआरमार्फत बक्सिङका पुराना भिडियोहरू हेरेर नयाँ कुरा सिक्ने प्रयासमा जुट्दथे । त्यति मात्र होइन, कडा शारीरिक प्रशिक्षणसँगै उनले दिमागलाई पनि चुस्त पार्न चेस खेल्नुका साथ–साथै पियानो बजाउने देखि पुस्तक पढ्नेतिरसमेत ध्यान केन्द्रित गर्थे ।
बक्सिङमा नै जीवन समर्पित गर्ने प्रबल इच्छा हुँदाहुँदै पनि दैनिक जीविका चलाउन उनीमाथि परिवारलाई सघाउने अर्को महत्वपूर्ण जिम्मेवारी पनि थियो । त्यसैले १४ वर्षको उमेरमा विद्यालय र घर छोडेर कामको खोजीमा उनी राजधानी मनिला पुगे । जहाँ उनले कामका साथै आफ्नो बक्सिङ प्रशिक्षणलाई पनि अगाडि बढाए ।

तर, काम र प्रशिक्षणलाई समानान्तर लैजान मनिलाको बसाइ उनको लागि सोचेको जस्तो सहज भने भएन । टुटेको मन र एक्लो शरीरलाई बचाइराख्न उनी मनिलाका सडकहरूमा सुत्थे, अनि ज्यालादारीमा पनि काम गर्थे । त्यसबाट पाएको पैसाले उनी जिम धाउँथे । उनी व्यायामप्रति यति एकोहोरो बनेका थिए कि कहिलेकाहीं जिम गर्दा गर्दै थाकेर जिमखानामा नै निदाउँथे । ट्रेनिङ सकाएर उनी डोनट्स बेच्नेदेखि खिया लागेका फलामका सामग्रीहरू टल्काउने काम पनि गर्थे । त्यति मात्र होइन, कहिले माली बन्थे त कहिले घर बनाउने ज्यामी अनि कहिले रेस्टुरेन्टहरूमा भाँडा माभ्mथे । कठिन दैनिकीबाट गुज्रे पनि बक्सिङलाई थाती लगाउने सोच उनमा कहिल्यै जागेन ।

बक्सिङमा कडा मेहनत, कठिन मेहनत र मुस्किल मेहनत यी तीन कुरा धेरै महत्वपूर्ण हुन्छ । यो कुराको अनुशरण गर्दै उनले फिलिपिन्सको राष्ट्रिय बक्सिङ टोलीमा स्थान बनाउन सफल भए ।

उनले मात्र १६ वर्षको उमेरमा व्यावसायिक बक्सिङ करियरको शुरुआत गरे । त्यतिबेला उनको उचाइ मात्र ४ फिट ११ इन्च र वजन ९८ पाउन्ड थियो । बक्सिङ खेल्नका लागि उनले आफ्नो उमेर ढाँटेका थिए । त्यतिबेला हरेक फाइटबापत उनले २ अमेरिकी डलर पारिश्रमिक पाउँथे । कडा मेहनतपछि सफलताको स्वाद पाउँछ भनेझैं मेनी व्यावसायिक बक्सिङ इतिहासकै एक उत्कृष्ट बक्सर बने । उनले एक फाइटबापत ६० मिलियन अमेरिकी डलरसम्म आम्दानी गरे ।

अहिले केही अभाव नभए पनि उनले आफ्नो बाल्यकाल र करियरको शुरुआतमा भोगेका दुःखलाई भने बिर्सेका छैनन् । उनले बक्सिङ खेलेर आर्जेका पैसाले अस्पताल, विद्यालय र गरिबहरूको बासस्थान निर्माणका लागि फन्डमार्फत रकम सहयोग गर्दै आएका छन् । घरबारविहीन फिलिपिन्सका हजारौं बालबालिकालाई वासस्थानको व्यवस्थाका लागि उनले सहयोग गरेका छन् । उनी फिलिपिन्सको जनतामाझ मसिहाको रूपमा परिचित छन् । जसका कारण उनलाई राजनीतिमा प्रवेश गर्नसमेत फिलिपिन्सका जनताले उत्प्रेरित गरेपछि सन् २०१० को आमनिर्वाचनमा आफ्नो प्रान्तबाट विजयी हुँदै उनी सांसदसमेत बने ।

लक्ष्यप्रति केन्द्रित हुने बानी र निरन्तर कडा संघर्ष नै मेनीको सफलताको सूत्र हुन् । उनले आफ्नो सफलताको श्रेय हरेक त्यस्ता व्यक्तिलाई दिएका छन् जसले उनलाई ‘सक्दैन’ भन्ने शब्द प्रयोग गरे ।

प्रतिक्रिया दिनुहोस्