प्रदेश प्रमुख अधिकारी समक्ष दलित आयोग प्रतिवेदन हस्तान्तरण

2.35k
Shares

मोरङ ।

प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’समक्ष राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०७७र७८ को प्रदेश नं १ को वार्षिक प्रतिवेदन आज यहाँ बुझाएको छ । प्रदेश प्रमुख अधिकारीलाई आयोगका प्रदेश नं १ र २ का संयोजक टुन्ज कामी बराइलीले नेपालको संविधानको धारा २९४ को उपदफा ३ बमोजिम उक्त प्रतिवेदन बुझाउनुभएको हो ।

सो अवसरमा प्रदेश प्रमुख अधिकारीले तानाशाह शासन अन्त्यका लागि गरिने क्रान्ति जसरी नै मुलुकमा जातीय विभेद अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । दलितप्रति हुने अपमान तथा छुवाछूत सभ्य समाजमाथिको बज्रपात सरह रहेको छ भन्दै उहाँले समाजमा रहेको असमानता हटाउनु हामी सबैको दायित्व भएको धारणा राख्नुभयो ।

प्रदेश प्रमुख अधिकारीले प्रतिवेदन समस्या समाधानको दस्तावेज भएको चर्चा गर्दै सङ्घीयताको सफल कार्यान्वयनबाट सबै जातजातिका सामाजिक, आर्थिक, लैङ्गिक विभेद समाधान हुने बताउनुभयो ।

आयोगका संयोजक बराइलीले अहिले पनि समाजमा जातीय छुवाछूत रहेकामा दुःख व्यक्त गर्दै यसको समाधानमा सङ्घ, प्रदेश र स्थानीय सरकार संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो । आयोगले बुझाएको प्रतिवेशन प्रदेशसभामा पठाइने छ ।