‘साफ च्याम्पियनसिप २०२१’ आजबाट



कविरस शर्मा, काठमाडौं ।

दक्षिण एसियाली राष्ट्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता ‘साउथ एसियन फुटबल फेडेरेसन (साफ) च्याम्पियनसिप २०२१’ आजदेखि माल्दिभ्सको राजधानी मालेमा शुरू हुँदैछ । नेपाली समयअनुसार आज राति ९ः४५ बजे हुने प्रतियोगिताको दोस्रो खेलमा नेपालले आयोजक तथा दुईपटकका उपाधि विजेता माल्दिभ्सको सामना गर्नेछ । त्यसअघि ४ः४५ बजे हुने उद्घाटन खेलमा भने बंगलादेशले श्रीलंकाको सामना गर्ने तालिका रहेको छ । यसअघि, उद्घाटन खेल नेपाल र माल्दिभ्सबीच तय गरिए पनि बिहीबार मात्र खेल समय परिवर्तन गरिएको हो ।

आधिकारिक खेल तथ्यांकअनुसार नेपाल र माल्दिभ्सबीच अहिलेसम्म कुल १६ म्याच भएको छ । जसमा माल्दिभ्स नै हावी रहेको छ । माल्दिभ्सले १६ मध्ये ८ वटामा जित निकालेको छ भने नेपालले ४ वटा मात्र जितेको छ । बाँकी चार खेल भने बराबरीमा टुंगिएको छ । त्यसक्रममा माल्दिभ्सले नेपालविरुद्ध २० गोल गरिसकेको छ भने नेपालले १९ गोल फर्काएको छ ।

यसपटक सिंगल राउन्ड रोबिनको आधारमा म्याचहरू खेलाइनेछ । सार्कमा आबद्ध सातमध्ये पाँच राष्ट्र मात्र सहभागी भएका कारण यसपटक राउन्ड रोबिनको ढाँचामा खेलाउन लागिएको हो । जसमा पाँचवटै राष्ट्रले एक–अर्काविरुद्ध खेल्नेछ र शीर्ष दुई राष्ट्र उपाधिका लागि फाइनलमा भिड्नेछ । माल्दिभ्स फुटबल एसोसिएसनले साफ च्याम्पियनसिपमा दर्शकहरूलाई पनि स्टेडियम प्रवेश खुला गरेको छ । कोभिड–१९ महामारीका कारण लामो समय बन्द रंगशालामा खेल गराएका माल्दिभ्स एफएले साफमा स्टेडियम प्रवेश गर्ने दर्शकहरूलाई कोभिड–१९ विरुद्धको खोपको दुवै डोज लगाएको प्रमाण पनि अनिवार्य गरेको छ ।

अक्टोबर १ देखि १६ तारिखसम्म चल्ने यस प्रतियोगितामा नेपालले राम्रो तयारी गरेको छ । कोरोनाको त्रासका बाबजुद पछिल्ला तीन महिनादेखि प्रशिक्षण थालेको नेपाली टोली करिब दुई हप्ता कतारमा प्रशिक्षण गरेर गत सोमबार माल्दिभ्स पुगेको हो । यसबीच, नेपालले भारत र ओमानसँग मैत्रीपूर्ण म्याच पनि खेलेको थियो । जसमा नेपालको नतिजामा खासै सुधार भने देखिएन । सदाझैं यसपटक पनि च्याम्पियन बन्ने लक्ष्यसहित किरण कुमार लिम्बू (चेम्जोङ) को कप्तानीमा नेपाली टोली शुक्रबार राति आयोजक माल्दिभ्सविरुद्ध मैदानमा उत्रँदै छ । नेपालले जस्तै माल्दिभ्स र श्रीलंकाले पनि कतारमा बन्द शिविर प्रशिक्षण गरेको थियो । यसअघि, सन् २०१८ को बंगलादेशमा भएको साफमा नेपाल सेमिफाइनलमा माल्दिभ्ससँगै पराजित भएको थियो । फाइनलमा भने माल्दिभ्सले भारतलाई हराएर दोस्रोपटक उपाधि उचालेको थियो ।

यसपटक भने फरक नतिजा ल्याउने अपेक्षासहित नेपाल माल्दिभ्स पुगेको छ । अहिलेसम्म साफको फाइनलसमेत पुग्न नसकेको नेपाली टोलीले यसपटक पनि उपाधि जित्ने लक्ष्य राखेको छ । आयोजक टिमसँग पहिलो म्याच खेल्दा गाह्रो हुने नेपालका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले बुझेका छन् । पहिलो खेल कठिन हुने उनले यसअघि नै बताइसकेका छन् । प्रशिक्षक अलमुताइरीले अहिलेसम्म नेपालले साफ जित्न नसकेको तथ्यलाई बदल्न खोजेका छन् । सकेसम्म उपाधि जित्ने, त्यो नभए कम्तीमा फाइनल भए पनि पुग्ने लक्ष्य भएको उनले बताउँदै आएका छन् ।

गत चैतमा एक वर्षका लागि नेपालको प्रशिक्षक बनेका अलमुताइरी कतार फुटबल संघको सहयोगमा नेपाल आएका हुन् । कुवेती प्रो लाइसेन्स प्रशिक्षक अलमुताइरीको प्रशिक्षणमा रहेको नेपालले श्रीलंकासँग असोज १८ गते (४ अक्टोबरमा) दोस्रो खेल खेल्नेछ । त्यसपछि नेपालले भारतसँग असोज २४ गते (१० अक्टोबरमा) खेल्नेछ भने बंगलादेशसँग असोज २७ गते (१३ अक्टोबरमा) खेल्नेछ । यसपटक सिंगल राउन्ड रोबिनका आधारमा शीर्ष दुई टिमले असोज ३० गते (१५अक्टोबरमा) फाइनल खेल्नेछन् । यसअघि, समूह चरण र सेमिफाइनल हुँदै फाइनल खेल हुन्थ्यो । यसपटक भने फाइनल पुग्नका लागि कम्तीमा पनि तीन टिमलाई पछि पार्नुपर्नेछ । यसपटक कोभिड–१९ का कारण ट्राभल रेस्ट्रिक्सनले गर्दा भुटानले सहभागिता जनाएन भने पाकिस्तान फिफाको प्रतिबन्धमा रहेकाले खेल्न पाएन ।
पछिल्लो फिफा वरीयतामा दक्षिण एसियाली मुलुकमध्ये भारत सबैभन्दा अग्रस्थानमा छन् । भारत १०७औँ स्थानमा रहँदा १५८औँ स्थानमा माल्दिभ्स, १६८औँ स्थानमा नेपाल, १८९औँ स्थानमा बंगलादेश र २०५औँ स्थानमा श्रीलंका छन् । एन्फाले १३औं साफ च्याम्पियनसिप जितेमा खेलाडीलाई के–कति पुरस्कार दिने घोषणा भने गरेको छैन । विगतमा पुरस्कारको घोषणा भने प्रतियोगिता अगाडि नै हुने गथ्र्यो । प्रतियोगिता खेल्न जानुअघि उपाधि जितेमा पुरस्कारको घोषणा गर्ने पुरानो चलन भने यसपटक तोडिएको छ ।

साफ च्याम्पियनसिपमा नेपाल

साफको इतिहास पल्टाउने हो भने नेपाललाई फलिफाप भएको देखिँदैन । दक्षिण एसियाली खेलकुद (साग) को फुटबलतर्फ चारपटक स्वर्ण जितिसकेको नेपालले अहिलेसम्म साफको फाइनलसमेत खेल्न सकेको छैन । जबकि, प्रतियोगितामा नेपालभन्दा पछि मात्र सहभागी भएका माल्दिभ्स, बंगलादेश र अफगानिस्तानले समेत उपाधि जितिसकेका छन् । सार्कमा आबद्ध सात राष्ट्रमध्ये चार राष्ट्रले साफ च्याम्पियनसिपको उपाधि जितिसक्दा नेपाल फाइनलसम्म पनि नपुग्नु दुर्भाग्यपूर्ण हो । बितेका हरेक संस्करणमा नेपालको तयारी राम्रो हुने गरे पनि नतिजा भने अपेक्षाअनुरूप हुन सकेको छैन । साफको सर्वाधिक सफल टोली भारत हो । भारतले सर्वाधिक सातपटक उपाधि उचालेको छ भने चार पटकका उपविजेता बनेका छन् । त्यस्तै, माल्दिभ्स दुई पटकको च्याम्पियन हो भने श्रीलंका, बंगलादेश र अफगानिस्तानले समेत समान एक–एकपटक उपाधिमा आफ्नो नाम लेखाएका छन् । तर, भुटान र समान दुई–दुईपटक आयोजक बनिसकेका नेपाल र पाकिस्तानले भने अहिलेसम्म साफ उपाधि जित्न सकेका छैनन् । प्रतियोगितामा पाँचपटक सेमिफाइनल पुगेको नेपाल र चारपटक सेमिफाइनल पुगेको पाकिस्तानले फाइनल पुग्ने भोकलाई मेटाउन सकेको छैन ।

साफ इतिहासको कुरा गर्दा सन् १९९७ मा नेपालमै आयोजना भएको प्रतियोगितादेखि साफ च्याम्पियनसिप शुरू भएको हो । त्यसअघि, सार्क गोल्डकपका नामबाट सन् १९९३ मा पाकिस्तान र १९९५ मा श्रीलंकामा खेलाइएको थियो । यी दुई प्रतियोगितासमेत जोड्दा अहिले माल्दिभ्समा जारी साफको यो १३औँ संस्करण हो । दुईपटक घरमै साफ च्याम्पियनसिप आयोजना गरिसकेको नेपालले प्रतियोगितामा सेमिफाइनलभन्दा माथिको नतिजा निकाल्न सकेको छैन । सन् २०१३ मा घरेलु दशरथ रंगशाला भएको प्रतियोगितामा नेपाल सेमिफाइनल पुगे पनि र अफगानिस्तानसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । यसअघि, सन् १९९३, १९९९, १९९५ र २०११, २०११ र २०१३ मा पनि नेपाल सेमिफाइनलसम्म पुगेको थियो ।

सन् १९९३ मा सार्क गोल्डकपको नामबाट शुरू भएको यो प्रतियोगिता पाकिस्तानको लाहोरमा आयोजना भएको थियो । आयोजक पाकिस्तानसँगै नेपाल, भारत र श्रीलंकाले सहभागिता जनाएको पहिलो संस्करणमा नेपाल तेस्रो भएको थियो । लिगका आधारमा सञ्चालित सो संस्करणमा नेपालले पाकिस्तान र श्रीलंकासँग बराबरी खेलेको थियो भने भारतसँग पराजित भएको थियो । प्रतियोगिताको उपाधि भने भारतले जितेको थियो ।

सन् १९९५ मा भएको दोस्रो संस्करणमा बंगलादेशले पनि सहभागिता जनायो । समूह चरणका दुई खेलमध्ये एकमा जित निकालेर सेमिफाइनल पुगेको नेपाल सेमिफाइनलमा भने श्रीलंकासँग अतिरिक्त समयमा ‘गोल्डेन गोल’ को आधारमा पराजित भएको थियो । भारतका चर्चित खेलाडी भाईचुंग भुटियाले अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेको उक्त संस्करणको फाइनलमा आयोजक श्रीलंकाले अतिरिक्त समयमा भारतलाई पराजित गर्दै उपाधि उचालेको थियो ।

त्यसको दुई वर्षपछि अर्थात् सन् १९९७ मा नेपालले पहिलोपटक साफ च्याम्पियनसिप आयोजना गरेको थियो । अघिल्लो संस्करणमा सहभागिता फिर्ता लिएको माल्दिभ्सले पनि यसपटक प्रतियोगितामा डेब्यु गरेको थियो । तर, नेपालको प्रदर्शन भने खराब नै रह्यो । नेपालले घरेलु भूमिमा आयोजना गरेको यस प्रतियोगितामा समूह चरण पनि पार गर्न सकेन । प्रतियोगिताको उपाधि भने भारतले नै जित्यो ।

त्यसपछि, भारतमा आयोजना भएको सन् १९९९ को संस्करणमा भुटान र अफगानिस्तान पनि प्रतियोगिता सहभागी हुने नयाँ राष्ट्र बनेको थियो । उक्त संस्करणको सेमिफाइनलमा बंगलादेशसँग पराजित भएपछि नेपालले चौथो स्थानमा चित्त बुझाउनुपपर्यो । अर्कोतिर बंगलादेशलाई हराउँदै भारतले भने तेस्रोपटक उपाधिमाथि कब्जा ग¥यो । त्यसपछि सन् २००३, २००५, २००८ र २००९ को संस्करणमा नेपालले समूह चरण पनि पार गर्न सकेन ।

सन् २०१३ को संस्करण भने नेपालमा नै आयोजना भएको थियो । सेमिफाइनलमा अफगानिस्तानसँग पराजित हुँदै नेपालको यात्रामा पुनः एकपटक पूर्णविराम लागेको थियो । त्यस्तै, सन् २०१५ मा भारतमा आयोजना भएको ११औं संस्करणमा पनि नेपालले समूह चरण पनि पार गर्न सकेन । सन् २०१८ मा भएको प्रतियोगिताको १२औं संस्करणमा पनि सेमिफाइनलसम्म पुगेको नेपाललाई माल्दिभ्सले ३–० ले हराएपछि नेपालको साफ यात्रा टुंगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्