सञ्चार उद्योगले व्यवसायिक योजना बनाउन जरुरी


काठमाडौं ।

संचारमाध्यमहरूको व्यवसायिक अभिबृद्धिका लागि गठन गरिएको मिडिया एलायन्स नेपालले कोरोना महामारीका कारण थला परेको संचार उद्योगलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा मिडिया कार्यशालाको आयोजना गरेको छ ।

राजधानीको सोल्टी होटलमा बिहीबार आयोजना गरिएको कार्यशालामा भारतका मिडिया गुरु प्रोफेसर उज्ज्वल के. चौधरीले संचार उद्योगको व्यवसायिक उत्थानका लागि मिडियाले व्यवसायिक योजना बनाउनुपर्ने आवश्यक्ता औंल्याउनुभएको छ ।

उहाँले राजनैतिक नेतृत्व, अन्य उद्योगधन्दा, व्यवसाय तथा अन्य पेशामा आवद्ध व्यक्तिहरूको छवी बनाउने काम गर्ने संचारमाध्यम आफैंले आफ्नो छवी बनाउन नसकेको कारण समस्या उत्पन्न भएको बताउनुभयो । कार्यक्रममा प्रोफेसर चौधरीले १५ वटा संचारमाध्यमका लगानीकर्ता, व्यवस्थापक तथा सम्पादकहरू मिलेर सामुहिक लक्ष्य प्राप्ति र सामुहिक हितका लागि अघि बढ्ने प्रयत्न गर्नुले संचार क्षेत्रमा केही राम्रो लक्षणको संकेत देखिएको धारणा व्यक्त गर्नुभयो ।

उहाँले यस्तो कार्यशालाको आयोजना दक्षिण एसिया तथा सम्भवतः विश्वमा नै पहिलो र ऐतिहासिक भएको जिकिर गर्दै विश्वकै संचारक्षेत्रमा यसले एउटा नयाँ ट्रेण्ड स्थापित गर्न सफलता मिलोस् भन्दै शुभकामना पनि व्यक्त गर्नुभयो ।

मिडिया एलायन्सले एउटा सामुहिक एप निर्माण गरी मिडिया एलायन्समा आवद्ध सबै संचारमाध्यमको समाचारलाई त्यसैमा समायोजन गरी वितरण गर्ने प्रणालीलाई अगाडि बढाउन लागेकोमा प्रशंसा गर्दै यसले विज्ञापन बजारमा हुने अस्वस्थ प्रतिस्पर्धालाई पनि रोक्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुुभयो ।

कार्यक्रममा मिडिया एलायन्सका अध्यक्ष एवं एभिन्युज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकारले एलायन्सले १२ सय करोडको विज्ञापन बजारलाई २५ सय करोड रुपैयाँको बनाउने लक्ष्य राखेको बताउनुभयो । उहाँले संचार नीतिको अभावमा २० अर्ब बढीको लगानी भएको संचार उद्योग टुहुरो जस्तै बन्न पुगेको भन्दै मिडिया एलायन्सले संचार उद्योगमा आवद्ध लगानीकर्ता, पत्रकार, संचारकर्मी तथा अन्य कर्मचारीहरूको समग्र हितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा एलायन्सका महासचिव एवं कामना न्युज पब्लिकेसन्स प्रा. लि.का प्रवन्ध निर्देशक दिरेकलाल श्रेष्ठले संचार उद्यमीहरूले अहं र इश्र्यालाई पन्छाएर सिंगो संचार उद्योगको विकासका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आफ्नो छवीलाई भन्दा संचारमाध्यमले समाज र देशका लागि पार्ने प्रभावलाई बढी महत्व दिनुपर्ने धारणा राख्दै कोरोना महामारीमा संचारमाध्यमले दिएको योगदानलाई सरकारले बिर्सन नमिल्ने बताउनुभयो ।

उहाँले द्वन्द्वकालमा मारमा परेका होटल र पर्यटन व्यवसायलाई जोगाउन सरकारले कोषको व्यवस्था गरेको स्मरण गराउँदै कोरोनाको समयमा जोखिम मोलेर सूचना प्रवाह गरिरहेको तर अर्थतन्त्रमा परेको मारसँगै धराशयी बन्न पुगेको संचार उद्योगलाई जोगाउन सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मिडिया एलायन्सका सदस्य एवं राजधानी न्युज पब्लिकेसनका कार्यकारी अधिकृत आशिष शेरचनले संचार उद्यमीहरू आपसमा अस्वस्थ प्रतिस्पर्धा गर्नुभन्दा सहकार्य गर्दा बढी लाभ लिन सकिने अनुभव सुनाउनुभएको थियोकार्यक्रममा सहभागी विभिन्न संचारमाध्यमका लगानीकर्ताहरूले विज्ञापन बजारमा देखिएको अस्वस्थ प्रतिस्पर्धाका कारण संचार उद्योगहरू मारमा परेको गुनासो गरेका थिए ।