जबज दृष्टिविहीनको हात्ती



नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा लिएको भनिएको ‘जनताको बहुदलीय जनवाद’ माथि प्रश्न उठेको छ । तत्कालीन नेकपा मालेका प्रभावशाली महासचिव मदन भण्डारीले कम्युनिस्टको एकदलीय वा साम्यवादी चिन्तनका साथ संगठित भएका आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई बहुदलीय लोकतान्त्रिक अभ्यासमा समाहित गराउन रणनीतिक चातुर्य प्रयोग गर्दै ल्याएको विचार जबज नेपालको संविधान, २०७२ पछि सान्दर्भिक नरहेको एकथरीको धारणा छ । संविधानले नै समाजवादउन्मुख सोच बनाएको र समावेशी लोकतन्त्रको अभ्यास गर्ने भनिसकेका कारण जबजको सान्दर्भिकता सकियो भन्नेहरू छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटीमा गत आइतबार पेस गरेको राजनीतिक प्रतिवेदनमाथि तीन बुँदे फरक मत राख्दै उपमहासचिव घनश्याम भुसालले जनताको बहुदलीय जनवाद के हो भन्ने विषयमा प्रष्ट नगरी अघि बढ्न नसकिने मत राख्नुभयो । जबजलाई सिद्धान्तका रूपमा आधिकारिक रूपले व्याख्या नगरिएका कारण यो ‘आँखा नदेख्नेले हात्ती छामेजस्तो’ विषय बनेको टिप्पणीसमेत गरिएको छ । जनताको बहुदलीय जनवादले साम्राज्यवादको विरोध गर्छ कि समर्थन, जनताको पक्ष लिन्छ भने कसरी, महिला र युवाको पक्षपोषण गर्ने विधि के हो भन्ने कुरा परिभाषित नगरी यसलाई मार्गदर्शक सिद्धान्त मान्न नसकिने धारणा एमालेका नेताहरूबाटै सार्वजनिक भएको छ । समाजवादमा जाने ठोस कार्यक्रम खोजिरहेको एमालेका लागि जबज सहायक हुन्छ भने कसरी हुन्छ, त्यसको व्याख्या हुनुपर्छ भन्ने माग उठिरहेका बेला एमाले अध्यक्ष ओलीले भोलि शुक्रबारदेखि शुरू हुने विधान महाधिवेशनले जबजको परिमार्जन तथा संशोधन हुने बताउनुभएको छ । जबज राजनीतिक दस्तावेज मात्र होइन, यो जीवन पद्धति हो, सामाजिक व्यवहार हो, यो समयसापेक्ष ढंगले परिवर्तन हुँदै जान्छ भन्ने उहाँको घोषणा छ । आगामी १७ गतेसम्म चल्ने ५ हजार नेता–कार्यकर्ताको उपस्थितिमा हुने विधान महाधिवेशनले पार्टीको नीति, सिद्धान्त र रणनीतिक मार्गदर्शन तयार पार्ने बताइएको छ । मुलुक सञ्चालन गर्ने, सत्ता चलाउने, राज्यका सिद्धान्त र संविधानलाई कार्यान्वयन गर्ने पार्टीले नीतिगत रूपमा तयार राख्नका लागि विधान महाधिवेशन स्वागतयोग्य कार्य हुनसक्छ ।

लोकतन्त्र मात्र होइन पूर्ण लोकतन्त्रका लागि जबजको आवश्यकता छ भनिइरहँदा समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यका लागि पनि यसकै फेर समाउने कार्य भएको छ । पूर्व प्रधानमन्त्री रहँदा ओलीले २०७५ सालमा मुगुको राराको किनारबाट देशवासीका नाममा सम्बोधन गर्दै समृद्ध नेपाल सुखी नेपालीको सूत्र सार्वजनिक गर्नुभएको थियो । कार्यक्रमबिनाको सूत्र भन्दै यसको आलोचना पनि हुँदैआएको सन्दर्भमा ओलीले समृद्ध नेपाल सुखी नेपालीलाई पहिलोपटक जनताको बहुदलीय जनवादमा जोड्नुभएको छ । यसअनुसार जबजको कार्यक्रम नै सुखी नेपाली समृद्ध नेपालको कार्यक्रम बनेको छ । निष्कर्षमा विधान महाधिवेशनले जे पारित गर्छ त्यही नै जबजको सिद्धान्त हुनेभएको छ । तर, जबजकै मान्यता नेपालको संविधान, २०७२ मा समावेश भएपछि पुनः जबजलाई बोकिरहनु ‘फलाम पेल्ने आधुनिक मेसिन आएपछि पनि गाउँले आरन जोगाउनुपर्छ, यो मेरो हजुरबाको चिनो’ भनेर बस्नु सान्दर्भिक देखिन्न भन्नेलाई सटिक जवाफ भने दिनसक्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्