जिम्मेवारीपूर्वक व्यवसाय गर्न पोउवा संघको आग्रह

182
Shares

न्युज अफ नेपाल, कास्की ।

पोखरा उद्योग वाणिज्य संघले चाडबाडको बेला आपूर्ति व्यवस्था सहज बनाउन एवं स्वास्थ्य सुरक्षाको मापदण्ड कायम गर्दै व्यापार/व्यवसाय गर्न उद्योगी/व्यवसायीहरुलाई अपील गरेको छ । संघले बुधबार विज्ञप्ति जारी गर्दै चाडबाडको बेला मूल्यसूचि देखिने गरी टाँस्न, बढी मुनाफा नलिन तथा म्याद गुज्रेका खाद्य बस्तुहरु टाँसीमा नराख्न एवं बिक्री–बितरण नगर्न पनि आग्रह गरेको छ ।

पोखरा उद्योग वाणिज्य संघ राज्यबाट प्रदत्त मुनाफाको सीमालाई ध्यानमा राख्दै व्यापार/व्यवसाय गर्न, उपभोग्य बस्तुहरुको मूल्य सूचि स्पष्ट देखिने गरी राख्न एवं हतारमा म्याद गुज्रेका तथा गुणस्तरहीन सामग्री आपूर्ति हुनसक्ने सम्भावनाप्रति सचेत रहन पनि आग्रह गर्दछौँ’,संघका महासचिव सुरेन्द्रमान विजुक्छेद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘ प्रशासनसँग अनुमति लिएर मात्रै विभिन्न खाद्य सामग्रीको प्याकेजिङ गर्न,खाद्यबस्तुको बढी स्टक नराखी आपूर्ति व्यवस्था सहज बनाउन र म्याद गुज्रेका सामग्रीहरु तत्काल टाँसीबाट हटाउन पनि हामी अनुरोध गर्दछौं ।’

संघले प्रशासनसँग अनुमति लिनुपर्ने खाद्य सामग्रीको प्याकेजिङ गर्दा ध्यान पु-याउन पनि आग्रह गरेको छ । बजार अनुगमनको नाममा व्यवसायीहरुको मानमर्दन नगर्न र सानो कमजोरीलाई ठूलो बनाएर उनीहरुले वर्षौं लगाएर आर्जेको प्रतिष्ठा धूलोमा नमिलाउन संघले नियमनकारी निकायसँग माग पनि गरेको छ ।