पहिरोले पुरेपछि सञ्चालनको तयारीमा रहेका स्टिमर अलपत्र


अमृत अर्याल, स्याङ्जा । 

कालीगण्डकी जलाशयमा वर्षाका कारण अवरुद्ध बनेको जल यातायात (स्टिमर सेवा) वर्षायाम सकिएपछि शुरू हुने तयारीमा थियो । असोजको पहिलो सातादेखि नदीमा पानीको बहाव घटेपछि कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणका क्रममा बनेको जलाशयमा जल यातायात पुनः शुरु हुने गर्दथ्यो ।

तर, सञ्चालनको तयारीमा कालीगण्डकी गाउँपालिका–७ स्थित आँधीदोभानमा राखिएका आठवटा स्टिमर पुरिएको छ । कालीगण्डकी जल यातायात प्रालिअन्तर्गत सञ्चालित ती स्टिमर पहिरोका कारण पुरिएको अध्यक्ष डोलराज भट्टराईले जानकारी दिनुभयो । स्टिमर पुरिएको खबर पाएपछि घटनास्थल पुग्दा स्टिमरमा पूर्ण क्षति भएको उहाँले बताउनुभयो । कोरोना र वर्षात्का कारण हाल स्टिमर सेवा बन्द थिए । एक÷दुई दिनमै स्टिमर सञ्चालन गर्ने भनी सरसफाइ र मर्मतको तयारी पूरा भएको अवस्थामा पहिरोले स्टिमर पुरेको भट्टराइले बताउनुभयो ।

वर्षाका कारण नदीमा बहाव बढेपछि दुर्घटना निम्तिने खतराले असारको पहिलो सातादेखि स्टिमर सेवा अवरुद्ध बनेको थियो । बहाव घटेपछि अवरुद्ध स्टिमर पुनः शुरु गर्ने तयारीमा रहेको बेला पहिरोले स्टिमर नै पुरिदिएपछि लाखौंको क्षति भएको स्टिमर सञ्चालक नवीन पाण्डेको बताउनुभयो । कालीगण्डकी ‘ए’ विद्युत् उत्पादनका लागि निर्मित बाँधमा बनेको कृत्रिम तालमा स्टिमर सञ्चालन गरिन्छ । यहाँ साना र ठूला गरी १० वटा स्टिमरसहित २ वटा माउन्ट मकालु नामक पानीजहाज सञ्चालनमा छन् । जलयातायात सेवा स्याङ्जा, पर्वत र गुल्मीका केही वडाबासीको भरपर्दो, छिटो–छरितो र सहज मार्ग हो ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी आँधीमुहानदेखि पर्वतको बिहादी गाउँपालिका–६ शालिग्राम सेतीवेणीसम्म सात किलोमिटरको दूरीमा १९ वर्षदेखि जल यातायात स्टिमर सेवा सञ्चालनमा छ । स्टिमर सेवाबाट दक्षिण पर्वतको बिहादी र पैंयु गाउँपालिकाका साथै स्याङ्जा, गुल्मी र बाग्लुङका बासिन्दा लाभान्वित हुने गरेको बिहादी गाउँपालिकाका अध्यक्ष कमल भुसालले जानकारी दिनुभयो । स्टिमरबाट दैनिक १ हजारभन्दा बढीले जलाशयमा ओहोर–दोहोर गर्ने गरेको उहाँले बताउनुभयो ।

स्टिमरमा १ सय ५० जना सवार गर्न मिल्ने १० वटा र १५ जना सवार गर्न मिल्ने माइक्रोस्टिमर दुईवटा सञ्चालन भइरहेको व्यवसायी हरिप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँले विगतमा दैनिक १ हजारभन्दा धेरै स्टिमरमा यात्रा गर्ने गरेको बताउनुभयो । स्टिमर सेवा सञ्चालनपछि चार घण्टाको यात्रा आधा घण्टामा छोटिएको उहाँको भनाइ छ । तर, अहिले सञ्चालनको तयारीमा रहेका आठवटा स्टिमर नै पुरिएपछि थप समस्या भएको कालीगण्डकी जल यातायात प्रालिले जनाएको छ ।