पवन र प्रीतिले फेरि ल्याए उस्तै गीत


गायक गायिका पवन राना र प्रीति आलेको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ।मंगलबार राजधानीको सामाखुसीमा आयोजित कार्यक्रमका बीच आलुजस्तो केटी बोलको गीत सार्वजनिक गरिएको हो।

पवन र प्रीतिको यो दोस्रो सहकार्य हो। झन्डै डेढ वर्षअघि उनीहरूले भुत्रो मायाजाल बोलको गीत सार्वजनिक गरेका थिए। जुन गीत शीर्षककै कारण विवादित पनि बन्न पुगेको थियो। अहिले सार्वजनिक आलुजस्तो केटीलाई त्यसैको अर्को श्रृंखलाका रूपमा लिइएको छ। कार्यक्रममा गायिका आलेले यसपटक पनि डान्सिङ गीत ल्याएको दाबी गरिन्। ‘लोक गीत सुन्ने दर्शकका लागि केही नयाँ हुन सक्छ, तर यसलाई लोकगीत भनेर नबुझिदिनुहोला।

कतिपय लोकपप गीतलाई पनि लोकदोहोरी गायिकाले के गीत गाएको भन्ने प्रश्न गर्नुहुन्छ। तर, मलाई सबै किसिमको गीत गाउन मन पर्छ’ उनले कार्यक्रममा भनिन् ‘खासमा केटा र केटीबीचको सम्वाद हुने समयमा रिसाउन प्रयोग गर्ने शब्द हो, आलुजस्तो केटा अथवा आलुजस्तो केटी। आलु भन्ने शब्द नराम्रो होइन। मैले विवादमा आउनकै लागि यस्तो शीर्षक राखेको होइन।’ गायक रानाले यसअघि प्रितीसँगको सहकार्यमा दर्शक तथा स्रोताले मन पराइदिएकाले उनीहरूकै चाहनाअनुरूप यस्तो गीत ल्याएको दाबी गरे।

गीतमा शब्द पनि प्रीति आलेले नै लेखेकी छिन् भने संगीत पवन रानाको रहेको छ। एरेन्जमेन्ट विपिन आचार्यको छ। गीतको म्युजिक भिडियोमा पवन र प्रितीले पनि अभिनय गरेका छन्। रञ्जन पाण्डे र एलिसा शर्माको पनि अभिनय छ। म्युजिक भिडियोमा द नेक्स्ट गु्रपका प्रदीप लामाको कोरियोग्राफी र निर्देशन रहेको छ।