अस्ताए वामपन्थी नेता अवस्थी


बैतडी, (नेस) ।

बामपन्थी आन्दोलनका अग्रणी नेता एवं समाजसेवी पृथ्वीराज अवस्थीको ८४ वर्षको उमेरमा निधन भएको हो । बैतडीको सुर्नया गाउँपालिका– ६ शंकरपुर घर भएका अवस्थी हाल कैलालीको गोदावरीमा बस्दै आउनुभएको थियो । ‘लालटिन बाजे’ का रुपमा समेत परिचित अवस्थीको घरमै निधन भएको हो ।

वि.स. १९९४ सालमा जन्मिनुभएका समाज परिवर्तनकालागि लामो समयदेखि संघर्ष गर्नु भएका अवस्थी केही बर्षदेखि अस्वस्थ रहनुभएको थियो । बैतडीमा बामपन्थी आन्दोलनलाई अघि बढाउन अवस्थीको ठूलो योगदान रहेको छ । यस्तै जातीय विभेद अन्त्यका लागि समेत अवस्थीले ठूलो योगदान पुर्याएको स्थानीयहरुले बताएका छन् ।

वि स २०४६ सालको परिवर्तन पछि एमालेबाट चुनाव समेत लडनु भएका अवस्थी पराजित हुनुभएको थियो । उहाँले चुनाव ताका लगाएको एक भोट एक नोटको नारा धेरै चर्चामा रहेको छ । प्रबल जनसेवा (चतुर्थ श्रेणी) मानपद्वीबाट विभूषित अवस्थीले गोरखा दक्षिणबाहु पनि पाउनुभएको थियो । पृथ्वीराज अवस्थीलाई वैचारिक र निष्ठावान नेताका रुपमा लिने गरिन्छ । उहाँले लामो समयसम्म नागरिक समाज बैतडीको नेतृत्व समेत गर्नुभएको थियो ।

बैतडी एमालेको पहिलो पुस्ताका थोरै नेता मध्येका एक व्यक्ति अवस्थी हुनुहुन्थ्यो । पृथ्वीराजलगायतका नेताहरुका कारण एमालेको संगठन गाउँ–गाउँसम्म फैलाएपछि यहाँ कम्युनिष्ट आन्दोलन र संगठनले गति लिएको बताइन्छ ।

संगठन निर्माण र जनजिविकाको सवालमा पृथ्वीराजले जहिल्यै निमुखाहरुको पक्षमा रहेर काम गर्नुभएको थियो । अवस्थीको निधनमा विभिन्न पार्टीका नेता, व्यक्ति र संघसंस्थाहरुले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।