खनिज इन्धन अप्रसार सन्धीको प्रारुपमा,धुलिखेल नगरपालिकाले ग-यो प्रतिवद्धता


मोतीराम तिमल्सिना,काभ्रे ।

‘खनिज इन्धन प्रयोगको अन्त्य र यसको चरण तथा संक्रमणको समर्थनका लागि विश्वव्यापी पहल’ भन्ने अभियानका लागि धुलिखेल नगरपालिकाले प्रतिवद्धता ब्यक्त गरेको छ । खनिज इन्धन अप्रसार सन्धीको प्रारूप निर्माण अभियानका लागि धुलिखेल नगरपालिकाले प्रतिवद्धता जनाएको नगर प्रमुख अशोक ब्याञ्जुले जानकारी दिनु भयो ।

स्वच्छ उर्जा नेपालको समन्वय र सहकार्यमा धुलिखेलमा आयोजित कार्यक्रममा नगरपालिका प्रमुख अशोक ब्याञ्जुले विश्वमा खनिज इन्धनको प्रयोगले पारिरहेको प्रभावसँगै नेपाल र नेपालीहरुले झेलिरहनु परेको अवस्थाका बारेमा जानकारी गराउँदै खनिज इन्धन अप्रसार सन्धीको प्रारुपका लागि तयार रहेको बताउनु भयो । ‘जलवायु परिवर्तनको असर बढ्दै जाँदा विश्वव्यापी संकटको रूपमा परिबर्तित भैसकेको छ ।

यो संकटको मुख्य कारण खनिज इन्धन माथिको वढ्दो परनिर्भरता हो’–नगर प्रमुख ब्याञ्जुले भन्नुभयो–‘नेपाल जस्ता बिकाशन्मुख राष्ट्र जलवायु परिवर्तनले ल्याउने विपद र खनिज इन्धन माथि बढ्दो परनिर्भरताले निम्त्याएको आर्थिक मारमा परेका छन् ।’नेपाल नगरपालिका संघका अध्यक्ष समेत रहनु भएका धुलिखेलका प्रमुख ब्याञ्जुले नेपालले हरेक बर्ष खरबौ रकमको खनिज इन्धन आयात गर्ने गरेकाले देशको अर्थ व्यवस्था कमजोर र असन्तुलित बन्दै गइरहेको बताउनु भयो । ‘जलवायु परिवर्तनले बाढी, पहिरो, डडेलो, खडेरी, अत्याधिक वर्षा, जस्ता प्राकृतिक प्रकोप र बायुप्रदूषण निम्त्याएको छ जसले समाजको संबेदनशील र कमजोर वर्गहरुलाई अत्याधिक क्षति पु-याएको छ ।

जलवायु संकटसंगै कोविड संकट समेत थपिदा विश्व अर्थतन्त्र र मानवीय सभ्यता दोहोरो संकटमा परेको छ’–नगर प्रमुख ब्याञ्जुले भन्नुभयो–‘संकटलाई न्युनिकरण गर्न र बिश्वब्यपी रुपमा भएका अभियान अपुग भएको निष्कर्षमा खनिज इन्धन अप्रसार सन्धीको प्रारूप नागरिक तहबाट नैतिक दबाबको लागि भाद्र, २०७७ बाट सुरु गरिएकोमा धुलिखेल नगरपालिकाको प्रतिवद्धता छ ।’ जलवायु परिवर्तन, आणविक हतियार जस्तै मानब सभ्यताका लागि खतराको रुपमा हेरिएको बताउँदै नगर प्रमुख ब्याञ्जुले खनिज इन्धन अप्रसार सन्धीको प्रारूपले आणविक उर्जा अप्रसार सन्धिको प्रारूप संग मिल्ने खनिज इन्धनको सबै नयाँ लगानी र उत्पादनमा रोक लगाउने, १.५ डिग्री सेल्सियस जलवायु लक्ष्य प्राप्तिका लागि खनिज इन्धनको मौजूदा उत्पादन चरणबद्ध रुपमा अन्त्य गर्ने, विकल्पमा विश्वभरी नै नवीकरणीय उर्जामा सहज स्थानान्तरण गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्मा, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो । स्थानीय तहमा हुने विकास निर्माण तथा संरचना निर्माणमा ध्यान पु-याउन विज्ञहरुले सुझाव दिएका थिए । कार्यक्रममा स्वच्छ उर्जा नेपालका प्राविधिक सल्लाहकार ङमिन्द्र दाहालले नागरिकको तहबाट शुरु भएको खवरदारीलाई स्थानीय सरकारले गरेको प्रतिवद्धताले थप हौसला मिलेको बताउनु भयो । धनी राष्ट्रहरुको खनिज इन्धन प्रतिको मोह छिट्टै भंग गर्न विकासोन्मुख राष्ट्रहरुको दबाव आवश्यक रहेको उहाँले बताउनु भयो । सोहि कार्यक्रममा अभियान्ता कौस्तुभराज न्यौपाने, कार्यक्रम संयोजक लालममणी वाग्ले, कार्यक्रम अधिकृत नविना तिवारी, युवा जलवायु अभियान्ता रोनीश पाण्डे लगायतले जलवायु परिवर्तनका कारण नेपालमा भएको असर र रोकथामका लागि स्थानीय तह तथा नागरिकहरुको तर्फबाट खेल्नु पर्ने भूमिकाका बारेमा जानकारी गराउनु भएको थियो ।

पछिल्लो समय खनिज इन्धनको अत्याधिक प्रयोगका कारण विश्वव्यापी रूपमा जलवायु आपतकालीन अवस्थाको सृजना भएको छ । कोइला, तेल र ग्याँस जस्ता खनिज इन्धनको अत्यधिक उपयोगले गर्दा कार्बनडाइअक्साइड, मिथेन, नाइट्रसअक्साइड र फ्लोरिनेटेड ग्याँसहरूले हरितगृह उत्सर्जन हुन्छ । विश्वव्यापी रूपमा ७५ प्रतिशत हरितगृह ग्याँस उत्सर्जन खनिज इन्धनको प्रयोगले गर्दा हुने गर्दछ । सबैभन्दा धेरै हरितगृह ग्याँस उत्सर्जन गर्ने राष्ट्रहरू चीन, संयुक्त राज्य अमेरिका युरोपियन संघहरू हुन् ।

पेरिस सम्झौताद्वारा लक्षित १.५ डिग्री सेल्सियस तापक्रम वृद्धिलाई सीमित गर्नको लागि संसारभर २०२० देखि २०३० को बीच खनिज इन्धन उत्पादन प्रति वर्ष लगभग ६ प्रतिशत घटाउन आवश्यक छ । नेपालमा यातायात क्षेत्र पेट्रोल र डिजलमा पूर्णरूपमा निर्भर छ । विश्वव्यापी रूपमा खनिज इन्धनको उपयोग र निकासी कम गर्नको लागि खनिज इन्धन अप्रसार सन्धिको अनुमोदन सेप्टेम्बर २०२० मा औपचारिक रूपमा शुरू भएको थियो । नेपालमा खनिज इन्धनको उपयोग घटाउन खनिज इन्धन अप्रसार सन्धिको समर्थन आवश्यक छ ।