प्रधानमन्त्री मोदीद्वारा उपराष्ट्रपति कमला हैरिसको प्रशंसा



इन्डिया न्युज नेटवर्क ।

अमेरिकी उपराष्ट्रपति कमला हैरिससँगको भेटका क्रममा भारतीय प्रधानमन्त्री मोदीले बिहीबार आपूर्ति श्रृंखला, नयाँ र उदीयमान प्रविधि र अन्तरिक्षको मुद्दामा सहकार्य सुदृढ पार्नुपर्ने आवश्यकताको बारेमा कुरा गरेका छन् ।

भारत र अमेरिका – सबैभन्दा ठूला लोकतान्त्रिक र संसारको सबैभन्दा पुराना प्रजातान्त्रिक मुलुक भएको भन्दै प्रधानमन्त्री मोदीले दुवै देशले समान मूल्य र भूराजनीतिक हित साझा गर्ने बताएका छन् ।

कोभिड १९ महामारीको दोस्रो लहरको संकटका बेला भारतलाई सहयोग दिएकोमा प्रधानमन्त्री मोदीले उपराष्ट्रपति हैरिसलाई धन्यवाद व्यक्त गर्दै भनेका छन् – ‘तपाइँले दिनुभएको सन्देश निकै संवेदनशील थियो ।

तपाइँको सन्देशपछि तुरुन्तै अमेरिकी सरकार, अमेरिकी कर्पोरेट क्षेत्र र भारतीय समुदाय सबै मिलेर भारतलाई सहयोग गर्न आए ।’

अमेरिकामा बसोबास गर्दै आएका चालिस लाखभन्दा बढी भारतीय मूलका मानिसहरूले दुई देशबीचको सम्बन्धमा पुलको काम गरेको भन्दै प्रधानमन्त्री मोदीले यी प्रवासीले दुई देशको अर्थतन्त्र र समाजप्रति बहुमूल्य योगदान दिएको भन्दै तिनको प्रशंसा गरेका छन् ।

यसै पृष्ठभूमिमा, मोदीले अमेरिकी उपराष्ट्रपतिको रूपमा उनको चुनावलाई ‘ऐतिहासिक’ भन्दै स्वागत गरेका छन् । साथै उनलाई विश्वभरका मानिसका लागि ‘प्रेरणाको स्रोत’ भएको भन्दै उनको प्रशंसा गरेका छन् ।

उनलाई भारत भ्रमणको निम्तो दिँदै प्रधानमन्त्रीले भनेका छन् – ‘विजयको यो यात्रालाई निरन्तरता दिँदै, भारतीयहरू पनि तपाइँ आफ्नो यो जितको यात्रा भारतमा पनि निरन्तर गर्नुभएको हेर्न चाहन्छन् । तसर्थ, सम्पूर्ण भारतीय नागरिक तपाइँको स्वागत गर्न आतुर छन् । म तपाइँलाई चाँडै नै भारत भ्रमणमा आउन आग्रह गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्