चिनियाँ हिरासतबाट क्यानडाली मुक्त



बेइजिंग,(एजेन्सी) ।

क्यानडाली प्रधानमन्त्री जस्टिन ट्युडोले चीनको हिरासतबाट मुक्त गरिएका दुईजना क्यानडाली नागरिक स्वदेश फर्कंदै गरेको जानकारी शनिबार दिएका छन् ।

क्यानडाली प्रहरीले अमेरिकी पक्राउ पुर्जीको आधारमा चिनियाँ प्रविधि जगत्का एक कार्यकारिणी प्रमुखलाई पक्राउ गरेको एकै छिनपछि सन् २०१८ मा चीनले माइकल स्पाभोर र माइकल कोभरिगलाई जासुसी गरेको अभियोग लगाइएको थियो ।

हुवेइ कम्पनीका कार्यकारिणी प्रमुख मेंग वान्झोउ शुक्रबार अमेरिकी वकिलहरूसँगको एक सम्झौतापछि क्यानडा छोडेकी छन् । मेंगलाई क्यानडामा हिरासतमा राखिएपछि चीन र क्यानडाबीच वर्षौं लामो कूटनीतिक तनाव चलेको थियो ।

राजनीतिक विश्लेषकहरूले क्यानडामा मेंगलाई हिरासतमा लिइएकाले राजनीतिक मोलतोलका लागि चीनले प्रतिशोधात्मक ढंगले ती दुई क्यानडालीलाई पक्राउ गरेको बताएका छन् । शुरूदेखि नै ती दुई क्यानडालीले आफूहरू निर्दोष रहेको अडान लिँदै आएका थिए ।

पत्रकार सम्मेलनमा प्रधानमन्त्री ट्युडोले भनेका छन् – ‘ती दुई क्यानडालीले धेरै दुख र तनाव खपेका छन् । अब तिनीहरू स्वदेश फर्केर परिवारसँग भेट्न लागेको खबर हामी सबैलाई राम्रो लागेको छ ।’ चीनका लागि क्यानडाली राजदूत डोमिनिक बार्टनसँग तिनीहरू क्यानडा फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्