चरम आर्थिक संकटमा धुलिखेल अस्पताल, २६ करोड भुक्तानी रोकिँदा सेवा प्रभावित



मोतीराम तिमल्सिना, काभ्रे ।

दैनिक १ हजार ५ सय भन्दा धेरै बिरामीलाई सेवा उपलब्ध गराउँदै आएको देशकै नमुना धुलिखेल अस्पताल चरम आर्थिक संकटमा परेको छ । सरकारले समयमै भुक्तानी नगरी दिँदा सो अस्पताल आर्थिक संकटमा परेको हो ।

सरकारले स्वास्थ्य बीमा, कोरोनाको उपचार र अन्य सेवाबापत धुलिखेल अस्पताललाई भदौ मसान्तसम्म २६ करोड रकम भुक्तानी दिन बाँकी रहेको अस्पताल प्रशासक प्रद्युम्न श्रेष्ठले बताउनुभयो । ‘स्वास्थ्य बिमाबापत सातामा १ करोड खर्च हुन थालेको छ’, श्रेष्ठले भन्नुभयो– ‘कर्मचारीले भदौदेखि तलब पाएका छैनन् भने कोरोनाको जोखिम भत्तासमेत उपलब्ध हुन सकेको छैन । दशैँ नजिकिन थालेपछि कर्मचारीलाई पेस्की भन्दा तलबको चिन्ता थपिएको छ ।’

कोरोना महामारीका कारण विद्यार्थीहरु भर्ना हुन नसक्दा शिक्षण अस्पतालसमेत रहेको धुलिखेललाई थप आर्थिक व्ययभार थपिएको हो । बिरामीको उपचार, शिक्षण शुल्कमार्फत व्यवस्थापन हुँदै आएको आर्थिक स्रोत कमजोर भएका कारण अस्पताललाई आर्थिक संकट पर्न थालेको हो । धुलिखेल अस्पतालले १ हजार ३ सय ९० कर्मचारीका लागि मासिक ७ करोड तलब भुक्तानी गर्नुपर्छ । भदौ र असोज महिनाको तलब १४ करोड र दशैं पेस्कीसमेत उपलब्ध गराउँदा १९ करोड भन्दा धेरै भुक्तानी गर्नुपर्नेछ ।

श्रेष्ठले औषधि खरिद, परीक्षणका लागि किटलगायतका अन्य सामग्री खरिद गर्न समेत रकम नभएको बताउनुभयो । सरकारले अस्पताललाई स्वास्थ्य बिमाबापत असार मसान्तसम्म ६ करोड रकम उपलब्ध गराउने बाँकी छ भने साउन र भदौ महिनाको १३ करोड रकम उपलब्ध गराउन बाँकी छ । असोज एक साताको १ करोड भइसकेको छ ।

‘प्राप्त हुनुपर्ने स्थानबाट समयमै रकम प्राप्त नहुने तर भुक्तानी समयमै गर्नुपर्ने हुनाले सेवा प्रवाहको चिन्ता थपिन थालेको छ’, श्रेष्ठले भन्नुभयो– ‘बिरामी आएर सेवा दिन नसक्दा लज्जित हुनुको विकल्प छैन । बिरामीको सेवा प्रभावित नहोस् भनेर हामी संवेदनशील छौं तर समस्या पैसाकै छ ।’

कर्मचारीलाई घटस्थापनाको १५ दिनअघि पेस्की रकम उपलब्ध गराउनुपर्ने प्रावधान छ । भदौ महिनाकै तलब दिन नसकेको अस्पतालले सेवा प्रवाह रोकिन नदिन सरकारलाई ताकेता गरिरहेको छ । असार मसान्तसम्मको बिमाबापतको ६ करोड भुक्तानीको तयारी भए पनि अस्पताललाई २० करोडको संकट परेको छ ।

यता धुलिखेल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले कोभिड महामारीको दोस्रो चरण सकिन लाग्दा समेत जोखिम भत्ता प्राप्त गर्न सकेका छैनन् । पहिलो चरणको कोभिडको समयमा धुलिखेल अस्पतालमा कार्यरत अधिकृत तह भन्दा माथिल्लो पदमा रहेर काम गर्ने चिकित्सक तथा कर्मचारीको २५ प्रतिशत तलब कटौती गरिएको थियो भने अधिकृत तहभन्दा तल्लो तहमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीको हकमा १० प्रतिशत तलब कटौती गरिएको थियो । यो वर्ष तलब कटौती नगरिए पनि स्रोत अभावका कारण मासिक हुने भुक्तानी दुई साता पर धकेलिन थालेको छ । तर पनि स्वास्थ्यकर्मी कर्मचारीले अझै कोभिडबापत सरकारले उपलब्ध गराउने भनेको जोखिम भत्ता प्राप्त गर्न सकेका छैनन् ।

२०७८ वैशाख १५ देखि असार मसान्तसम्म धुलिखेल अस्पतालमा कार्यरत ७ सय १७ जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई जोखिम भत्ता उपलब्ध गराउनुपर्छ । जसमध्ये डाक्टर १ सय ८९, नर्स २ सय ७४, पारामेडिक्सअन्तर्गत एक्सरे र रेडियोलोजीमा कार्यरत ३१, माइक्रोबायोलोजीमा कार्यरत २९, २४ घण्टा सेवा प्रदान गर्ने २९, आइसोलेसनमा काम गर्ने ४०, काउन्टरमा काम गर्ने तथा चालक १७, सहयोगी कर्मचारी ९५र पोस्ट रेजिटेन्ड कन्सल्टेन्सी ११ गरी ७ सय १७ जनाले विभिन्न मितिमा कोभिडमा काम गरेको जोखिम भत्ता उपलब्ध गराउन बाँकी रहेको अस्पतालका जय राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्