नेपाल छोडेका नेताहरू ओलीसँग रुष्ट


काठमाडौं, (नेस) ।

पार्टीभित्र जेठ २ अघिको कमिटी ब्युँताउने १० बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने माग गर्दै आए पनि नेपाल कम्युनिस्ट पार्टी एमालेभित्र नयाँ कमिटीले नै निरन्तरता पाएपछि माधवकुमार नेपाल छोडेर एमालेमै रहेका नेताहरू असन्तुष्ट बनेका छन् । एमालेको जारी केन्द्रीय कमिटी बैठकमा १० बुँदे सहमतिलाई एजेन्डा बनाउन तेस्रो धारका नेताहरूले माग गरे पनि सुनुवाइबिना नै बैठक अगाडि बढिरहेको छ ।

सहमति कार्यान्वयन नभएको भन्दै तेस्रो धारका नेताहरूमा असन्तुष्टि बढिरहेका बेला जारी एमालेको केन्द्रीय कमिटीको बैठकमा नेपाल समूह छोडेर आएका नेताहरूलाई टोली नेता हुनबाट पनि वञ्चित गराइएको छ । टोली नेतामा अध्यक्ष ओली पक्षीय नेताहरूलाई मात्र जिम्मेवारी दिएपछि तेस्रो धारका नेताहरू अझ रुष्ट बनेका छन् ।

सुदूरपश्चिम प्रदेशको इन्चार्ज भीम रावल भए पनि अध्यक्ष ओलीले लेखराज भट्टलाई नै निरन्तरता दिनुभएको छ । उपाध्यक्ष रावलले पुरानो जिम्मेवारी पाउनुपर्ने माग राख्दै आए पनि अध्यक्ष ओलीले कुनै सुनुवाइ नै नगरेपछि रावलले असन्तुष्टि जनाउँदै आउनुभएको छ । सुदूरपश्चिम प्रदेशमा मात्र अन्य प्रदेश र कमिटीमा पनि जेठ २ अघिको कमिटी ब्युँताइएको छैन । तेस्रो धारका असन्तुष्ट एक नेताले भने– ‘हामीले १० बुँदे सहमतिअनुसार अगाडि बढ्नुपर्ने माग राख्दै आएका छौं, अध्यक्षले हुन्छ भन्दै सहमति कार्यान्वयन नगरिकनै अगाडि बढ्दा समस्या देखिएको छ ।’

शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल सम्पन्न भएको छ । प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह बनाएर समूहगत छलफल थालिएको थियो । बैठकले १० वटै समूहको टोली नेतासमेत चयन गरेको थियो । प्रदेश–१ बाट हिक्मत कार्की, प्रदेश–२ बाट रामचन्द्र मण्डल, वागमतीबाट आनन्द पोखरेल, गण्डकीबाट जगत् विश्वकर्मा, लुम्बिनीबाट दलबहादुर राना, कर्णालीबाट यमलाल कँडेल, सुदूरपश्चिमबाट कर्ण थापा, उपत्यका विशेषबाट माधव ढुंगेल र जनवर्गीय संगठन तथा विभागहरूबाट खिमलाल भट्टराई छानिनुभएको थियो । १० जना टोली नेतामा नेपाल छोडेर आएका तेस्रो धारका कुनै पनि नेता अटाउन सकेनन् ।

समूहगत छलफलको सुझावपछि अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव तथा संगठन विभाग प्रमुख बिष्णु पौडेलले जवाफ दिने कार्यक्रम रहेको छ ।

एमालेले आगामी असोज १५ देखि १७ गतेसम्म पहिलो विधान महाधिवेशन गर्दै छ । गत भदौ २ मा माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि १० जना स्थायी समिति सदस्यसहित ५७ जना नेता १० बुँदे सहमति कार्यान्वयन हुने आसमा नेपालको पार्टीमा नगई एमालेमै बसेका थिए ।

एमालेका तेस्रो धारका भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, अष्टलक्ष्मी शाक्य, योगेश भट्टराईलगायतका नेताहरूले १० बुँदे सहमति कार्यान्वय गर्नुपर्ने माग राख्दै आएका छन् ।