खड्कालाई किकुताको बधाई


काठमाडौं (नेस) ।

डा. नारायण खड्का परराष्ट्रमन्त्री हुनुभएकोमा नेपालका लागि जापानी राजदूत किकुता युताकाले बिहीबार आफ्नो सरकारका तर्फबाट शुभकामना दिनुभएको छ ।

डा. खड्कालाई उहाँको कार्यकालको पूर्ण सफलताको कामना गर्दै राजदूत किकुताले २०१३ सालदेखि नेपाल–जापानबीच कूटनीतिक सम्बन्ध कायम रहेको र मित्रता तथा सहयोगमा इतिहास रचेको मुलुक हुन पाएको स्मरण गर्नुभएको छ । उहाँले दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापित हुनुअघि १९५९ सालमै नेपालबाट जापान पढ्न गएका ८ नेपाली विद्यार्थीको यात्रालाई स्मरण गर्दै सम्बन्धको १ सय २० वर्ष पुगेको उपलक्ष्यमा आगामी वर्ष आयोजना गरिने विशेष समारोहको पनि स्मरण गराउनुभएको छ । उहाँले कोभिड– १९ विरुद्ध संयुक्त रूपमा दुई मुलुक मिलेर लडाइँ लडिरहेको पनि उल्लेख गर्नुभएको छ ।

जापानले नेपाललाई १६ लाख डोज अस्ट्राजेनिका खोप उपलब्ध गराएको छ । यसैबीच जापानले यही असोज १ गतेदेखि खोप लगाएका नेपालीलाई जापान प्रवेश अनुमति पनि प्रदान गरेको छ ।