सम्पदा संरक्षणमा काठमाडौं महानगरपालिकाको काम अनुकरणीय


नेपाल समाचारपत्र, काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले रकम अभावले संस्कृति, सम्पदा संरक्षणको काम रोकिनुपर्ने अवस्था पूर्णरूपमा अन्त्य भएको बताउनुभएको छ ।

नेवाः पत्रकार राष्ट्रिय दबूले बुधबार ललितपुरमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रमममा उहाँले सो कुरा बताउनुभएको हो । वागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनी मन्त्री हुनुभएकोमा डा. अजयक्रान्ति शाक्यलाई स्वागत र संस्कृति सम्पदा संरक्षणमा प्रदेश र स्थानीय तहको भूमिका विषयमा छलफल गर्न सो कार्यक्रम आयोजना गरिएको थियो ।

महानगरपालिकामा जनप्रतिनिधि आएपछि भाषा, संस्कृति र सम्पदा संरक्षणको विषयलाई उच्च प्राथमिकता राखी बजेट विनियोजित गर्दै आएको बताउँदै मेयर शाक्यले भन्नुभयो – ‘रकम अभावका कारण संस्कृति, सम्पदा संरक्षण नहुने, कुनै नाच पर्व बन्द हुने, सम्पदा जीर्ण अवस्थामै राखिराख्नुपर्ने स्थिति गुठीयार, संस्कृतिकर्मीले भोग्नुपर्ने अवस्था अब छैन ।’

महानगरपालिकाले संस्थागत र निजी विद्यालयमा एउटा विषयको नेपाल भाषाको माध्यम र विषयको पढाइ अनिवार्य गरेको, नेपाल भाषा मंकाः खलको दबू छेँ भवन निर्माण, कयौं बौद्ध विहार, महाविहार, क्वापाद्य, पाटीहरू निर्माण अर्मूत संस्कृतिको संरक्षण संस्कृति क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको उदाहरणहरू रहेको पनि मेयर शाक्यको भनाइ रहेको छ ।

मेयर शाक्यले जनमानसमा भ्रम फैलाउने उत्तेजित तुल्याउने उद्देश्यले समाचार सम्प्रेषण नगर्न पत्रकारलाई आग्रह गर्दै मेयर शाक्यले तथ्यमा आधारित सूचना, दोहोरो जाँच गरी मात्र सम्प्रेषण गर्न आग्रह गर्नुभयो । दुई वर्षअघि इन्द्रजात्राको अवसरमा विदेशी मेयरहरू बोलाएर इन्द्रजात्राको महत्वलाई अन्र्तराष्ट्रियस्तर बुझाउने, सांस्कृतिक पर्यटक प्रवद्र्धनको सम्भावनाको संकट दिएको पनि मेयर शाक्यले बताउनुभयो ।

सो अवसरमा वागमती प्रदेशका आन्तरिक मामिला मन्त्री डा. शाक्यले भाषा, संस्कृति संरक्षण गर्नुपर्ने एजेन्डालाई बोक्दै राजनीतिक यात्रा शुरू गरी यहाँसम्म आइपुगेको चर्चा गर्दै वागमती प्रदेशले सो सवालमा महत्वपूर्ण काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपालको संघीयताको अभ्यासलाई परिपक्व बनाउन आफूले सक्दो भूमिका निर्वाह गर्ने बताउँदै मन्त्री शाक्यले भन्नुभयो–‘महानगरपालिकाले संस्कृति र सम्पदा संरक्षणमा धेरै काम गरेको छ । यसलाई स्थापित गर्दै अरू स्थानीय तहले पनि यसको अनुशरण गर्न सकिने छ । स्थानीय तहलाई अझ बलियो बनाउन प्रदेशले सहजीकरणको भूमिका निर्वाह गर्नेछ ।’

सो अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यले मेयर शाक्यले संस्कृति सम्पदा संरक्षणमा स्थानीय तहले कसरी र कुन रूपमा भूमिका निर्वाह गर्न सक्दछ भन्ने विषयमा महानगरपालिकाले एउटा बलियो उदाहरण स्थापित गरेको धारणा राख्नुभयो ।

अध्यक्ष बज्राचार्यले भाषा, संस्कृति, सम्पदा संरक्षणमा महानगरपालिकाको भूमिका ऐतिहासिक कार्यको संज्ञा दिनुभयो । उहाँले प्रदेश सरकारले मातृभाषाको पत्रकारिता, समावेशी सञ्चारको लागि गर्नुपर्ने विषयमा मन्त्री शाक्य समक्ष ध्यानाकर्षण पत्र बुझाउनुभएको थियो ।
सो अवसरमा कार्यक्रमका संयोजकसमेत रहनुभएका वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले महानगरपालिकाले विद्यालयस्तरमा नेपाल भाषाको माध्यमबाट पढाइने नीति लागु गरी युगान्तकारी महत्वको काम गरेको धारणा राख्नुभयो ।

यसबाट संस्कृतिकर्मी, भाषिक अभियन्ता र मातृभाषा विषयमा पढाउनेपक्षमा दशकौंदेखि अभियान सञ्चालन गर्दै आएका सबैको संवेदनशीलतामाथि कदर भएको छ । ‘यो कार्य देशका ७ सय ६३ वटै स्थानीय तहले आफ्नो क्षेत्रमा बाहुल्य रहेको भाषालाई कसरी संरक्षण गर्न सकिन्छ भन्ने नजिर पनि हो वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भन्नुभयो ।