मिस नेपाल यूएसमा १० सुन्दरीको स्पर्धा

14
Shares

मिस नेपाल यूएसको १०औं वार्षिकोत्सवका अवसरमा अमेरिकामा आयोजना गरिने सौन्दर्य प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाका लागि १० युवती छनोट भएका छन्। शनिबार अमेरिकाको न्युयोर्कको क्विन्स थियटरमा हुने प्रतियोगिताबाट मिस नेपाल यूएस २०२१ को घोषणा गरिनेछ।

मिस नेपाल यूएस २०२१ को टप टेनमा अमेरिकाका विभिन्न राज्यमा बस्दै आएका अपेक्षा सिंह गुरुङ परियार, कला न्यौपाने, प्रतीक्षा शुक्ला, प्रतिशा प्रधान, प्रीतिजा जैशी, रिया श्रेष्ठ, सुनीता अधिकारी, सन्यामिता श्रेष्ठ, सोनिश्या थापा र एलिसा लिम्बू परेका छन्।

सन् २०११ मा न्युयोर्कबाट शुरू भएको प्रतियोगितामा सुजिता बस्नेतले पहिलो मिस नेपाल यूएसको ताज पहिरिएकी थिइन्। आफ्नो समुदाय र संस्कृतिका पक्षमा वकालत गर्न सक्नुका साथै नेतृत्व लिन सक्ने युवाहरूको उत्पादनमा यस कार्यक्रमले १० वर्षदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको दाबी कार्यक्रमका संस्थापक तथा अध्यक्ष अमित शाह बताउँछन्। मिस नेपाल यूएसले अमेरिकी सरकारबाट ट्रेडमार्कसमेत पाएको छ। प्रतियोगिता शुरू गरेको झन्डै १० वर्षपछि मिस नेपाल यूएसले अमेरिकी सरकारको ट्रेडमार्क अफिसबाट औपचारिकरूपमा ट्रेडमार्क पाउन सफल भएको हो।

ई–प्लानेट नेपालको सहकार्यमा सन् २०११ देखि आयोजना हुँदै आएको मिस नेपाल यूएसले सौन्दर्य प्रतियोगिताको प्रकृतिमा मनोरञ्जनमूलक श्रेणी ४१ मा ट्रेडमार्क पाएको हो। पहिलोपटक सन् २०११ को जुनमा प्रयोग भएको र अगस्टमा व्यावसायिकरूपमा प्रयोग भएको इतिहाससहित ट्रेडमार्क प्रमाणपत्र प्रदान गरिएको हो।