हरिहरपुरगढी सडक आधा काम नहुँदै क्षत–विक्षत


बुद्ध नेपाली, सिन्धुली ।

सिन्धुलीको हरिहरपुरगढी दरबार क्षेत्रसम्म पुग्ने सडक निर्माणकार्य पूरा नहुँदै भत्केर क्षत–विक्षत भएको छ । गएको वर्षायाममा आएको पहिरोले सडक निर्माण पूरा नहुदै भत्केको हो । हरिहरपुरगढी गाउँपालिका–३ गुर्जीदेखि वडा नं. १ हरिहरपुरगढी दरबारसम्म पुग्ने ८ किलोमिटर सडक १ करोड ५१ लाख बराबरको लागतमा निर्माण हुँदै थियो ।

आर्थिक वर्ष २०७७/०७८ मा हरिहरपुरगढी दरबार क्षेत्रसम्म पुग्ने ८ किलोमिटर सडकमा ड्रेन, मिसिनरी वाल, सेलेप, ग्याभिङ, जाली र नयाँ कटिङको काम गर्ने गरी शक्ति एच क्याम्प जेभीले ५१ प्रतिशत बिलोमा अर्थात् १ करोड ५१ लाखको हाराहारीमा ठेक्का लिएको थियो । ५१ प्रतिशत बिलोमा ठेक्का हात पारेको निर्माण कम्पनीले २०७७ पुसमा ६ महिनाभित्र सडक निर्माण गरिसक्ने गरी सम्झौता गरेको थियो । गएको वर्षायाममाको भीषण वर्षा र त्यसपछिको बाढी–पहिरोले निर्माण कम्पनीले बनाएको सबै वाल र ढलाउन भत्काइदिएको छ । पहिरो खेसेर भर्खर बनाएको वाल पूरै भत्केको छ भने भुइँको ढलान पनि प्रयोग गर्न नमिल्ने गरी चर्केको छ । पुरुवा माटोमाथि वाल उठाएकाले वाल भत्केपछि पुरेको माटो सबै वालसँगै खसेर ढलान मात्रै बाँकी रहेको स्थानीयले बताएका छन् ।

सडक निर्माणको ठेक्का पाएको निर्माण कम्पनी शक्ति एच क्याम्प जेभीको लापरबाही र गुणस्तरहीन काम गरेकाले सडक भत्केको गुर्जीका स्थानीय ताराकुमारी राईको भनाइ छ । ‘हिउँदभरि सडक निर्माणको काम केही भएन । वर्षायाम लाग्न थालेपछि ठेकेदारले काम गर्‍यो । झरीमा गरेको काम के राम्रो हुनु । ठेकेदारले सडक राम्रोसँग नबनाएकै कारणले अहिले सडक भत्केको हो ।’ –उहाँले भन्नुभयो ।

ठेकेदार कम्पनीको चरम लापरबाही गरी गुणस्तरहीन सडक निर्माण गरेकै कारण सडक निर्माण सम्पन्न नहुदै भत्किएको अर्का स्थानीय हरिहरपुरगढी गाउँपालिका–१ का सानुकान्छा बम्जनले बताउनुभयो ।

असार मसान्तसम्ममा निर्माण सक्ने गरी ठेक्का लिएको निर्माण कम्पनीले समयअवधि सकिँदासम्म करिब आधा मात्रै काम गरेको छ । सम्झौता अवधिको समय सकिँदा समेत निर्माण कम्पनीले ६० देखि ६५ प्रतिशत मात्रै काम गरेको हरिहरपुरगढी गाउँपालिका अध्यक्ष कारसाङ लामाले बताउनुभयो ।

ठेकेदार कम्पनीले लापरबाही गरेर सम्झौता अवधि सकिँदासम्म आधा मात्रै काम गरेको र त्यसमा पनि निर्माण भएका सबै सडक वर्षाले भत्केकाले ठेकेदार कम्पनीले सडक पुनर्निर्माण गरेर मात्रै बुझाउनुपर्ने उहाँको भनाइ छ । ‘यो सडक हाम्रो गाउँपालिकाको मुख्य पर्यटकीय तथा ऐतिहासिक स्थल हरिहरपुरगढी दरवारसम्म पुग्ने रणनैतिक सडक हो । यसको विकासका लागि बजेट पनि राम्रै थियो । तर, ठेकेदार कम्पनीले आधा भन्दाबढी बिलोमा ठेक्का लिएर काम गरेकाले हामीले सोचेजति सडक निर्माणले गति लिएन ।’ –अध्यक्ष लामाले भन्नुभयो ।

ठेकेदार कम्पनीको सबै रकम भुक्तानी नभईसकेकाले ठेकेदार कम्पनीले सबै काम सकेर भत्केका ठाउँमा पुनर्निर्माण नगरे बाँकी रकम नदिने उहाँको बताउनुहुन्छ ।

तर, निर्माण कम्पनीले यस वर्ष धेरै वर्षा भएको र नयाँ कटिङ गरेर सडक निर्माण गरेकाले भत्केको बताएको छ । ‘गुणस्तरीय सडक निर्माण गरेको हो, तर वर्षाले गर्दा सडक भत्कियो । –शक्ति एच क्याम्प जेभीका श्रीबहादुर भुजेलको दाबी छ ।