भारतीय बन्दरगाहमा तीन टन हेरोइन जफत


नयाँदिल्ली,(एजेन्सी) ।

भारतीय तस्करीविरुद्धका गुप्तचर अधिकारीहरूले गुजरात राज्यको एउटा बन्दरगाहमा गरिएको विशेष कारबाही अभियानअन्तर्गत झण्डै तीन टन हेरोइन जफत गरेका छन् । प्रचलित अन्तर्राष्ट्रिय बजारमा उक्त परिमाणको लागु औषधको मूल्य २ अर्ब ७० करोड अमेरिकी डलर रहेको छ ।

सरकारी अधिकारीहरूले जफत भएको हेरोइनको यकिन मूल्य थाहा पाउन त्यसको फोरेन्सिक परीक्षण भइरहेको जानकारी बीबीसीलाई दिएका छन् । यस सम्बन्धमा दुई व्यक्तिलाई गिरफ्तार गरिएको तथा अन्य थुप्रैमाथि अनुसन्धान भइरहेको बताइएको छ । अफगानिस्तानबाट टल्क स्टोनको नाममा सिपमेन्ट गरिएको सो अवैध हेरोइन इरान हुँदै गुजरातको मुन्द्रा बन्दरगाहमा आइपुगेको हो ।

राजश्व गुप्तचर निर्देशनालय (डीआरआई) ले आफूलाई इरानको बान्दर अब्बास बन्दरगाहबाट पठाइएको एउटा सिपमेन्टमा आशंकित लागुऔषध रहेको हुनसक्ने सूचना प्राप्त भएको जनाएको छ । साथै डीआरआईले सो सिपमेन्ट दक्षिण भारतको विजयवादा शहरको एउटा कम्पनीले झिकाएको बताएको छ ।

डीआरआइद्वारा जारी गरिएको एउटा विज्ञप्तिमा सरकारी अधिकारीहरूले भारतको राजधानी दिल्ली लगायत, अहमदावाद र चेन्नाईलगायत अन्य थुप्रै शहरमा पनि छापा मारिएको जनाइएको छ । यस काण्डमा मुछिएका केही अफगान नागरिकमाथि पनि अनुसन्धान जारी रहेको छ ।