पायलमाथि एसिड आक्रमण

5.55k
Shares

बलिउड अभिनेत्री पायल घोषले आफूमाथि केही व्यक्तिबाट हमला भएको र एसिड आक्रमणको प्रयास गरेको दाबी गरेकी छिन्।

सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडियो सेयर गर्दै उनले आफू औषधि खरिद गरेर कारमा घर फर्कंदै गर्दा रातको १० बजे मास्क लगाएका केही अञ्जान व्यक्तिले आफूलाई रड प्रहार गरेको र छल्न खोज्दा आफ्नो हातमा रड लागेर चोटसमेत लागेको जनाएकी छिन्। ‘म आफ्नो कारबाट गइरहेको थिएँ। केही व्यक्तिले मलाई रडले टाउकोमा हमला गर्ने कोशिस गरे। मैले हातले छल्ने कोशिस गर्दा हातमा चोट लागेको छ। उनीहरूमध्ये एकको हातमा बोतल थियो मलाई लाग्छ त्यसमा एसिड थियो’ पायलले भनेकी छिन् ‘म उनीहरूको हमलाबाट बच्न सफल भए पनि मेरो हातमा भने चोट लागेको छ। म दुखाइका कारण रातभरि सुत्न सकिनँ। मैले मेरो जीवनमा पहिलोपटक यस्तो घटना भोगेको हुँ।’

पायलले यो कार्य आफ्नो कुभलो चिताउने व्यक्तिहरूले गरेको भए पनि यो योजनाबद्ध तरिकाले भएको र ती व्यक्तिहरूप्रति आफू खरोरूपमा प्रस्तुत हुने तथा उनीहरूविरुद्ध मुद्दा दायर गर्ने बताएकी छिन्। पायल केही समयअघि निर्देशक अनुराग कश्यपलाई यौन शोषणको आरोप लगाएका कारण चर्चामा थिइन्।