७१ वर्षे उमेरमा सुनको कचौरी गाउँदै गौरीसँग नाचे मदनकृष्ण

162.53k
Shares

उमेर ७१ वर्ष। त्यसमाथि पार्किन्सन रोगले गाँजेको शरीर। तर, पनि ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता मदनकृष्ण श्रेष्ठको जोश र प्रतिभा उस्तै सल्बलाइरहेको छ।

यो उमेर र शारीरिक समस्याका बाबजुद मदनकृष्ण लगातार गीत गायन, अभिनय र नृत्यमा उत्तिकै क्रियाशील छन्। उनले १६ वर्षे जवानीको जोश निकाल्दै गाएको र नाचेको नयाँ गीत हालै सार्वजनिक गरिएको छ। उनले शारीरिक र प्रतिभामूलक उर्जा प्रदर्शन गर्दै जोशका साथ गाएको र नाचेको

सुनको कचौरी बोलको गीत म्युजिक भिडियोसहित हालै राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको हो। गीत सार्वजनिक भएको छोटो अवधिमै यसलाई करिब एक लाख मानिसले युट्युबमा हेरेर राम्रो प्रतिक्रिया दिएका छन्।

गीतमा मदनकृष्णलाई गायिका मिलन नेवारले साथ दिएकी छिन् भने राजनराज शिवाकोटीको शब्द रचना र संगीत रहेको छ। गीतमाथि लोभलाग्दो म्युजिक भिडियो बनेको छ। जसमा मदनकृष्ण र कोरस कलाकारका साथ अभिनेत्री गौरी मल्लले आकर्षक नृत्य प्रस्तुत गरेका छन्। राजेश पुमा राईले निर्देशन गरेको म्युजिक भिडियो उत्सव दाहालले खिचेका छन् भने विकास दाहालले सम्पादन गरेका छन्। भिडियोमा सन्तोष राजवाहकको कोरियोग्राफी रहेको छ।

गीत सार्वजनिक कार्यक्रममा उद्योगपति डा. विनोदकुमार चौधरी, लोकप्रिय फिल्मकर्मी नीर शाह, मदनकृष्ण र उनका जोडी हरिवंश आचार्यलाई सम्मान गरिएको थियो। उनीहरूलाई आ–आफ्नो क्षेत्रमा पुर्‍याएको योगदानका लागि सम्मान गरिएको हो।