असन बजारबाट फर्कंदै नलिना

29.52k
Shares

एक जमानाकी लोकप्रिय गायिका नलिना चित्रकार करिब ७ वर्ष लामो समयको अन्तरालपछि नयाँ गीतका साथ नेपाली सांगीतिक क्षेत्रमा फर्कने भएकी छिन्।

तिम्रो अधर तिम्रो नजर, प्रियतम, गोरी काली सानी मोरी, मेहेन्दी लगाउ, पानी पानी, चाहिँदैन हीरा मोती, मस्ती, परेलीमा जस्ता दर्जनौं हिट नम्बरकी गायिका चित्रकार नेपालमा ट्रयाक तयार भई अमेरिकामा भोकल रेकर्ड गरिएको गीत असनमा झुम्का हरोएको प्रसंग बनाएर गाइएको डान्सिङ नम्बरबाट पुनः सांगीतिक क्षेत्रमा फर्कन लागेकी हुन्। ‘त्यसो त म्युजिकल टुरहरु गरेर सांगीतिक क्षेत्रमा सक्रिय नै छु। तर, ६/७ वर्षपछि यो नयाँ गीत लिएर आउँदै छु’, अमेरिकाबाट नेपाल समाचारपत्रसँग कुरा गर्दै गायिका चित्रकारले भनिन्– ‘यसमा दर्शक स्रोताले नलिनाको पुरानो टेस्ट फेरि पनि पाउनु हुनेछ। साथसाथै नयाँ टेस्टको अनुभव पनि गर्नु हुनेछ।’

गीतका शब्द रचना डीबी खनालको रहेको छ भने राजनराज शिवाकोटीले संगीत दिएका छन्।

यो युगल गीतमा गायिका चित्रकारलाई नवगायक वेद आर बस्नेतले साथ दिएका छन्। गीतको आकर्षक म्युजिक भिडियो पनि बनेको नलिनाले जानकारी गरँइन्। म्युजिक भिडियोमा धेरैजसो अमेरिकी राज्यका दृश्य समेटिएका छन् भने काठमाडौंको असन पनि देख्न पाइनेछ। म्युजिक भिडियो निर्माणका लागि अमेरिकाबाट निर्माता निर्देशक नारायण पुरीले निर्देशन संयोजन गरेका छन् भने काठमाडौंको दृश्यको निर्देशन सुव्रत आचार्यले गरेका छन्। म्युजिक भिडियोको छायांकन अमेरिकामा रामेश्वर कार्की र नेपालमा उत्सव दाहालले गरेका छन् भने सम्पादन विकास दाहालले गरेका छन्। त्यसै गरी, कोरियोग्राफी अमेरिकामा आइसा ओझा र नेपालमा प्रदीप विकास दाहालले गरेका छन्। यो गीत र यसको म्युजिक भिडियो आगामी साता अमेरिकाको टेक्सासमा एक समारोहका बीच सार्वजनिक गरिने भएको छ।

केही वर्षयता अमेरिकामा बस्दै आएकी गायिका चित्रकारले तीन दशक लामो सांगीतिक करियरलाई अगाडि बढाउने क्रममा आठ अडियो एल्बम सार्वजनिक गरेकी छिन् भने फिल्मी, आधुनिक तथा लोकपप गरी साढे २ सय गीत गाइसकेकी छन्।