अवैध चरेश कारोबार गर्नेे गिरोह पक्राउ


नेपाल समाचारपत्र, काठमाडौं।

नेपालबाट युरोप, अमेरिका र एसियाका विभिन्न देशमा अवैधरूपमा चरेशको कारोबार गर्दै आएको एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपालमा बनेको सामान पठाउने भन्दै हस्तकलाको सामानभित्र चरेश राखेर भारतको बाटो हुँदै हङकङ, थाइल्यान्ड र टर्कीसहितका मुलुकमा चरेस पठाउने समूहका ९ जनालाई पक्राउ गरेर लागूऔषध नियन्त्रण ब्युरोले सार्वजनिक गरेको हो ।

नुवाकोटका उर्पा तामाङ उर्फ सेसे भन्ने व्यक्तिलाई उक्त कारोबार गरेको अभियोगमा पक्राउ गरेपछि उक्त गिरोह पक्राउ परेको प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक हृदय थापाले जानकारी दिनुभयो ।

पक्राउ परेका तामाङ यसअघि लागू औषध मुद्दामा १९ वर्ष जेल बसेर २०७३ सालमा जेलमुक्त भएका थिए । जेल मुक्त भएपछि तामाङले संगठित रूपमा उक्त काम गर्दै आएको एसएसपी थापाले जानकारी दिनुभयो ।

लागू औषध खैरो हेरोइन मुद्दामा जेल गएका तामाङले अहिले चरेस तस्करीको धन्दा शुरू गरेका छन् ।

प्रहरीले म्याग्दीका श्यामप्रसाद रोका र वीर बहादुर रोका मगरलाई ब्युरोको टोलीले भदौ २१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । उनीहरू कतार एयरवेजको विमानमार्फत दोहा जान लागेका थिए । श्याम प्रसाद र वीर बहादुरको साथबाट प्रहरीले ४ किलो ३५ ग्राम लागू औषध चरेस बरामद गरेको थियो । उनीहरूलाई चरेस पठाउने समूहबारे अनुसन्धान गर्दै जाँदा थप ७ जना पक्राउ परेका हुन् ।
विमानस्थलबाट पक्राउ परेका श्यामप्रसाद, बरबहादुरको बयानका आधारमा म्याग्दीका दिलबहादुर रोका, धादिङ घर भएका अनिलबहादुर घले, जितबहादुर तामाङ र माइला भन्ने कृष्ण बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्ना मान्छेलाई विभिन्न समूह बनाएर चरेस तस्करीमा संलग्न रहँदै आएका तामाङलाई पक्राउ गरेपछि उनकै बयानको आधारमा ब्युरोले नुवाकोटका वीरबहादुर तामाङलाई पक्राउ गर्न सफल भएको थियो ।

नेपालमा बनेको नोटबुक र डायरीको भित्री कभरमा चरेस राखेर सो समूहले तस्करी गर्दै आएको सूचनाको आधारमा उनीहरूको बारेमा लामो अनुसन्धानपछि गिरोहलाई पक्राउ गर्न सफल भएको एसएसपी थापाले जानकारी दिनुभयो । प्रहरीले सो समूहबाट ७ किलोभन्दा बढी चरेस बरामद गरेको छ । उहाँले टोखा नगरपालिका–३ स्थित कपनमा रहेको तामाङको डेरामा चरेसलाई नोटबुक र हेन्डीक्राफ्टभित्र लुकाउने कारखाना नै सञ्चालन गरेको भेटिएको जानकारी दिनुभयो । उहाँका अनुसार तामाङसहितको गिरोहले नेपाली कागजबाट बनेका डायरी र ऊनबाट बनाइएका विभिन्न रङका हेन्डिक्राफ्टमा कार्बन पेपरले छोपेर विदेश पठाउन चरेस तयार गर्ने गरेको पत्ता लागेको होे ।

सो समूहले भारतीय नागरिकसँग मिलेर कलकत्ता हुँदै पानीजहाजबाट थाइल्यान्ड लगायतका देशमा चरेस पठाउने गरेको तथ्य फेला परेको ब्युरोले जानकारी दिएको छ । तामाङले विदेशमा काम गर्न जाने नेपालीलाई नक्कली कागजात बनाएर बिक्री गर्ने गरेको पनि ब्युरोले जनाएको छ ।