१३ जिल्लाको अन्योल कायमै


काठमाडौं, (नेस) ।

नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवादका कारण हिजो मंगलबार गर्ने भनिएको वडा अधिवेशन १३ जिल्लामा हुन सकेन । वडा अधिवेशन नहुँदा असोज ९ गते गर्ने भनिएको गाउँ/नगर अधिवेशन पनि प्रभावित भएको छ ।

केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले नेपाल समाचारपत्रलाई दिनुभएको जानकारीअनुसार प्रदेश–२ को आठ जिल्लासहित कैलाली, सुर्खेत, डोल्पा, रसुवा र बाँकेको क्रियाशील सदस्यता विवाद टुंगिन बाँकी रहेको छ ।

क्रियाशील सदस्यता विवादका कारण कांग्रेसको जारी वडा अधिवेशन २० जिल्लामा रोकिएको थियो । जसमध्ये विवाद समाधान भएको काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बाजुरा, मोरङ र बर्दियाको अधिवेशन प्रक्रिया मंगलबार शुरु गरिएको छ । यी जिल्लाका केही वडामा आज पनि अधिवेशन हुँदै छ । कांग्रेसको तल्लो तहको अधिवेशनअन्तर्गत ५७ जिल्लाको वडा अधिवेशन यसअघि नै सम्पन्न भइसकेको छ ।

केन्द्रीय निर्वाचन समितिले जानकारी दिएअनुसार विवादित १३ जिल्लामा पनि सकेसम्म ९ गते नै अधिवेशन शुरु गर्ने गरी छलफल भइरहेको छ । देशभर एकैपटक गाउँ÷नगर अधिवेशन गर्न सम्भव नभए ६४ जिल्लामा मात्र भए पनि गाउँ÷नगर अधिवेशन गर्ने गरी पार्टीभित्र छलफल भइरहेको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताउनुभएको छ ।

अधिवेशन कार्यतालिकाअनुसार प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते तोकिएको छ । प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एकमात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते गर्ने मिति तय भएको छ ।