सुदूरपश्चिममा थप ३९ जनामा कोरोना सङ्क्रमण, १३ सङ्क्रमणमुक्त


बैतडी  ।

सुदूरपश्चिम प्रदेशमा मङ्गलबार थप ३९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ९६६ जनाको नमूना परीक्षण गर्दा ३९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पीसीआर विधिमार्फत गरिएको परीक्षणमा सेती प्रादेशिक अस्पतालमा १३, महाकाली अस्पतालमा आठ र डडेल्धुरा अस्पतालमा तीन जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै एन्टीजेन विधिमार्फत गरिएको परीक्षणमा कञ्चनपुरमा आठ, कैलालीमा दुई र बैतडीका एक जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा प्रदेशभर १३ जना सङ्क्रमणमुक्त भएका छन् । यसअघि सोमबार यो प्रदेशमा ५३ जनामा सङ्क्रमण पुष्टि हुँदा १९ जना सङ्क्रमणमुक्त भएका थिए ।