डाँडाको वरपीपलमा जुँगावाला गीत


सरकारले सञ्चालनका लागि अनुमति दिइसके पनि फिल्म हल खुल्न नसकिरहेको समयमा अगामी असोज २६ गते फूलपातीका दिन रिलिजमा ल्याउने घोषणा गरिएको फिल्म डाँडाको वरपीपलको दोस्रो गीत काटिदिउँला जुँगा सार्वजनिक गरिएको छ।

निर्माता एवं निर्देशक शोभित बस्नेतद्वारा निर्देशित फिल्मको यो गीत आइतबार राजधानीको नयाँ बानेश्वरस्थित वन सिनेमामा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो। यो गीत लोकप्रिय लोकगायक स्व. खेमराज गुरुङले गाएको अन्तिम गीत हो। गीतमा खेमराजसँगै गायिका रिमा गुरुङ होडाको स्वर रहेको छ।

उमंग लामा र केशव चौलागाईंको शब्द रचना र उमंग लामाको संगीत रहेको गीतको भिडियोमा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापालगायतका कलाकारले नृत्य र अभिनय गरेका छन्। गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ।

नवराज गिरीले निर्माण गरेको फिल्ममा अस्मिता जुरेली, हिउँवाला गौतम, उत्तम केसी, संगम भण्डारी, सुशान्त कुमार श्रेष्ठ, प्रभात पल, अश्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेललगायतका कलाकारले पनि अभिनय गरेका छन्। फिल्ममा रामकाजी घिमिरेको लेखन, सुशान्त प्रजापतिको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र मित्रदेव गुरुङको सम्पादन रहेको छ।