बदनाम विभूषण



समाजलाई असाधारण योगदान दिएबापत राज्यले दिने सम्मान हो विभूषण र मानपदवी । सिद्धान्ततः सरकारले दिने मान, पदवी र विभूषण राष्ट्रिय जीवनमा विविध क्षेत्रमा उल्लेखनीय काम गरेका व्यक्तिहरूलाई थप ऊर्जाशील भएर काम गर्न पे्ररणा दिने हेतुले राष्ट्राध्यक्षबाट यो आभूषण प्रदान गरिन्छ । त्यस्ता मानिसहरूलाई दिइएको मान र पदवीको गरिमा र महिमा उच्च हुनु स्वाभाविक छ । तर, व्यवहारमा त्यसो भएको पाइँदैन। राजतन्त्रकालदेखि अहिले गणतान्त्रिक व्यवस्थासम्म आइपुग्दा यसमा व्यापक सुधारको अपेक्षा गरिएकोमा अझ उल्टो अवस्था देखापर्नु दुर्भाग्यपूर्ण भएको छ । राजनीतिक भागबण्डा, विवादास्पद सार्वजनिक पद धारक व्यक्ति, सरकारी अधिकारी, नातागोता र आफन्तलाई मान–पदवी र विभूषण बाँड्ने परम्पराले पदकको महत्व र गरिमा बर्सेनि घटाइरहेको छ । सरकारले वितरण गरेको यसपालिको मान–पदवी र विभूषणमा अझ बढी कमजोरी देखाएको छ ।

संविधान दिवसको अवसरमा राज्यले दिने विभूषण, पदवी, अलंकार हरेकपटक विवादको भुमरीमा पर्छ, जसले कामै गरेर कदरस्वरूप सम्मानित हुन पाउनुपर्ने हो उनीहरूले समेत गर्व महसुस गर्न सक्दैनन् । सरकारले राजनीतिक आस्थाका आधारमा मानपदवी (विभूषण) सिफारिस गरेको पाइएको छ । तत्कालीन केपी शर्मा ओली सरकारका पालामा अघि बढेको विभूषण सिफारिस उल्ट्याएर शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि दलीय भागबण्डालाई नै बढावा दिनेगरी विभूषण पाउनेको नाम छनोट गरेको हो । जुन पार्टी सरकारमा हुन्छ, त्यही पार्टी नेता, कार्यकर्ता र निकटवर्तीहरूलाई पदक दिएको भन्दै आलोचना हुँदै आएको थियो । योपटक त विभूषणमा सत्तारूढ गठबन्धनको भागबण्डा भएको भन्दै पदक अस्वीकार गर्नेहरूको संख्या बढेको छ । सत्तारूढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाललाई प्रबल जनसेवाश्री र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका दिवंगत पिता मंगलकुमार उपाध्यायलाई प्रबल जनसेवाश्री पदक प्रदान गरिएको छ । पत्रकारिताका, प्रकाशक र पत्रकारहरूलाई समेत चाकडी गर है भनेर सरकारले तक्मा बाँडेको देखिन्छ । कानुनअनुसार राष्ट्रिय जीवनमा विशिष्ट योगदान गरेकाहरू मात्रै विभूषित हुनसक्ने व्यवस्था छ । तर, विभूषण पाउने आधार र औचित्य नखोजी मनमौजी रूपमा तक्मा बाँड्ने क्रम नरोकिएको दृष्टान्त हुन् यी ।

राष्ट्र र समुदायमा प्रख्यातिभन्दा बदनामी कमाएकाहरूको समेत पोल्टामा समेत पदक परेपछि यो राष्ट्रिय लज्जाको विषय बनेको छ । यसले सत्ता र शक्तिको नजिक रहेर मान–पदवी लिने परम्परा गणतन्त्र आएको दशक पुग्दा अझ बढेको देखिनु दुर्भाग्यपूर्ण छ । कसैले पदक पाउँदा सम्बन्धित व्यक्ति मात्र होइन, अरू नागरिक पनि ऊप्रति गौरवान्वित हुनुपर्ने हो । अहिलेको अवस्थामा कसैले तक्मा पाइहाल्यो भने उसले गतिलो योगदान गरेछ भनेर लोकले बुझ्दैन, खालि ऊ सत्ताको नजिक रहेछ भनेर मात्रै चिन्छ । यसले गर्दा कोही लायकै व्यक्तिले पदक पाएका छन् भने, तिनले पनि ढुक्कले गौरवानुभूति गर्नसक्ने स्थिति छैन । त्यसैले यसप्रति सम्बन्धित सबै गम्भीर हुन जरुरी छ । यदाकता कोही–कोही व्यक्तिको नाममाथि विवाद हुनु अन्यथा होइन, तर हरेकपटक विभूषण पाउनेको नामावली सार्वजनिक हुनासाथ प्रायः धेरैको योगदानमाथि प्रश्न उठ्नुले सही सन्देश दिइरहेको छैन ।

प्रतिक्रिया दिनुहोस्