आजबाट देशैभरि भेरोसेल खोप


काठमाडौं, (नेस) ।

सरकारले चीनबाट खरिद गरी ल्याएको कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ खोप लगाउने कार्यक्रम आज सोमबारदेखि देशैभरि सञ्चालन गर्ने भएको छ ।

चीनसँग खरिद गरिएको ६० लाख मात्रा खोपमध्ये ल्याउन बाँकी ४० लाख मात्रा खोप शुक्रबार काठमाडौं आइपुगेपछि स्वास्थ्य मन्त्रालयले लक्षित समूह निर्धारण गरी देशैभरि खोप अभियान शुरु गरेको हो । यो खोप अभियान आजबाट असोज १४ गतेसम्म सञ्चालन हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ताप्लेजुङ, शंखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुला जिल्लामा १८ वर्षमाथिका खोप लगाउन बाँकी रहेका सबै नागरिकलाई खोप उपलब्ध गराइनेछ । काभ्रे र चितवनमा भने ३५ वर्षमाथिका सबै नागरिक र १८ वर्षमाथिको खोप लगाउन छुटेका विद्यार्थीलाई लगाइने गरी कार्यक्रम तय गरिएको छ ।

काठमाडौं, ललितपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा भने ४० वर्षमाथिका सबै नागरिकलाई खोप लगाइने भएको छ । यी जिल्लामा खोप लगाउन छुटेका विद्यार्थीलाई पनि खोप लगाइने भएको छ । बाँकी ५८ जिल्लामध्ये मनाङ, मुस्ताङ र रुकुम पूर्वबाहेक ५५ जिल्लामा भने ४५ वर्षमाथिका सबै नागरिकलाई खोप लगाइनेछ । सबै जिल्लामा खोप लगाउन छुटेका १८ वर्षमाथिका विद्यार्थीलाई प्राथमिकतामा राखिएको छ ।

यसअघि पहिलो मात्रा कोभिसिल्ड र एस्ट्राजेनेका खोप लगाएका नागरिकले यो खोप लगाउन नहुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।