पहाडमा थन्किँदै बहुमूल्य युरेनियम, बागमतीमा धातुजन्य खनिजका २७ खानी

44.93k
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

देश/विदेशका धेरै अनुसन्धानकर्ता त्यहाँ पुग्छन् । आफूले ल्याएको मेसिन प्रयोग गरेर त्यहाँको भौगोलिक अवस्थाबारे अध्ययन गर्छन् । तर, स्थानीयले यो के गरेको हो भन्नेसम्म पनि थाहा पाएका छैनन् ।

त्यहाँबाट ‘अज्ञात समूह’ ले ढुंगामाटो लैजाने अनि फोटो खिँच्ने गरेका छन् । युरेनियमको महत्वपूर्ण भण्डारण छ रे भन्ने सुनेका स्थानीयलाई त्यसको प्रभाव वा प्रयोजनबारे जानकारी छैन । स्थानीयलाई आफू बसेको ठाउँमा कस्तो प्रभावशाली चिज छ भन्ने विषयमा जानकारी नभएको हो ।

गाउँका धेरै मानिस आँखा दुख्ने, शरीर चिलाउने, टाउको दुख्ने समस्याबाट पीडित छन् । केही वर्षयता त्यहाँ आँखा परीक्षण शिविर सञ्चालन हुँदै आएको छ । तापनि, आँखा रोगीको संख्यामा कमी आएको छैन । सामान्य स्वास्थ्य शिविर पनि बेलाबेलामा हुने गरेका छन् ।

बागमती प्रदेशकै बहुमूल्य प्राकृतिक सम्पत्तीका रुपमा रहेको युरेनियम धातु स्थानीय पहाडमा वर्षौंअघिदेखि थन्किएर बसेको छ । प्रदेश सरकारले प्रदेशको धातुजन्य खनिज फेला पारेका २७ वटा खानीमध्ये युरेनियम पनि पहिचान गरिएको हो ।

मन्त्रालयका अनुसार सरकारले युरेनियमका खानी पहिचान गरेको छ । विश्वमा शक्तिशाली र बहुमूल्य युरेनियमको खानी बागमती प्रदेशका दुई जिल्लामा पहिचान भएको छ । मन्त्रालयले गरेको अध्ययनअनुसार पूर्वी मकवानपुरको बकैया गाउँपालिका–२, तीनभंगाले र सिन्धुलीको बुकाखोलामा बहुमूल्य धातु युरेनियम पहिचान भएको छ ।

विश्वमा बहुमूल्य र शक्तिशाली मानिने युरेनियम नेपालमा पहिचान भए पनि यसको उत्खनन् र सदुपयोग गर्न सकिन्छ÷सकिँदैन भन्नेबारे अध्ययन भएकै छैन । प्रदेश सरकारलाई धातुजन्य पदार्थ अध्ययन, अनुसन्धान, पहिचान र संरक्षण गर्ने काममात्र जिम्मा दिएर केन्द्र सरकार आराम गरिरहेको छ ।

सरकारले गरेको अध्ययनअनुसार बागमती प्रदेशका जिल्लामा २७ प्रकारका धातुजन्य खनिज खानी पहिचान भएर २०७४ सालमा केन्द्र सरकारलाई प्रतिवेदन बुझाएको हो । त्यसमा शक्तिशाली र बहुमूल्य धातु युरेनियमबारे पनि छ । प्रदेश सरकारलाई पहिचानबाहेक अन्य काम गर्ने अधिकार छैन ।

स्थानीयले थाहा नपाउञ्जेल कालापानी खहरेको पानी खाएका थिए । पछि त्यो पानी पिउन त के छुनसम्म नहुने जानकारी पाएपछि फापरबारीनजिकबाट पाइपमा ल्याएको पानी स्थानीयले उपभोग गरिरहेका छन् ।

युरेनियम कति फेला परेको छ वा त्यसको प्रभाव कति हुन्छ भन्ने विषयमा कसैले स्थानीयलाई सही कुराको जानकारी दिएका छैनन् । तर, सन् १९९० मा गरिएको सर्भेले त्यहाँ करिब ५ सय १० मिटर लम्बाइमा युरेनियम भण्डारण रहेको देखाएको छ । त्रिभुवन विश्वविद्यालयबाट युरेनियमबारे अध्ययन गर्न धेरैपटक आएको स्थानीयको भनाइ छ ।

युरेनियमबारे धेरैपटक अनुसन्धान भएका छन् । काठमाडौंबाट एउटा टोली तीन साता त्यहाँ बसेर अनुसन्धान गरेर गएको स्थानीय जिनमान स्यांतान बताउनुहुन्छ । उहाँ २०२० सालदेखि धियाँलको कालापानीमा बसोबास गर्दै आउनुभएको छ । चुरेको घाँचमा बसोबास गर्ने धियाँलबासीले युरेनियमले पारेको प्रभावबारे अध्ययन गर्ने र ज्यादै जोखिममा भए बस्ती स्थानान्तरण गर्नुपर्ने माग गरेका छन् ।

सरकारी निकायले यस विषयमा प्रतिक्रिया नदिएको र आफूहरुलाई गुमराहमा राखेको अर्का स्थानीय प्रेम थिङ बताउनुहुन्छ । क्यान्सर रोग निवारणमा थेरापीका लागि प्रयोग हुने युरेनियम हाल नेपालले विदेशबाट खरिद गर्दै आएको छ । युरेनियम अधिकांश विकसित मुलुकमा विद्युत् उत्पादनदेखि बम बनाउन प्रयोग गरिन्छ । यसबाट रेडिएसन निस्कने हुनाले क्यान्सर रोगका लागि सेकाइमा प्रयोग हुन्छ । यो ठूलो परमाणु अस्त्रको तत्व हो । यसको उत्खनन् र प्रयोग गर्न ठूलो धनराशि चाहिन्छ ।

नेपालमा सन् १९८० को दशकदेखि युरेनियम अन्वेषणको काम भए पनि सरकारले आवश्यक ऐन नबनाउँदा नेपालमा युरेनियम उत्खनन् सम्भावनाबारे अध्ययन हुन सकेको छैन । युरेनियम उत्खनन् गरेर सदुपयोग गर्न सके नेपालीको आयमा उल्लेख्य वृद्धि गर्न सकिने विज्ञहरु बताउँछन् । तर, यसबारे सरकारले ऐन बनाएको छैन ।

युरेनियम आणविक हतियार र आणविक ऊर्जा भट्टीमा प्रयोग हुने रेडियोधर्मी पदार्थ हो । विश्वको आणविक भट्टीबाट ऊर्जा उत्पादनको स्थिति हेर्दा बेल्जियम, बुल्गेरिया, चेक गणतन्त्र, फिनल्याण्ड, फ्रान्स, हंगेरी, जापान, दक्षिण कोरिया, स्वीडेन, स्वीट्जल्याण्ड र युक्रेनमा ३० प्रतिशत् वा यसबढी बिजुली सबै आणविक भट्टीबाट उत्पादन हुन्छ ।

वैज्ञानिकरुपमा दुई प्रकारका युरेनियम पाइन्छ । युरेनियम–२३८ र युरेनियम–२३५, प्राकृतिकरुपमा पाइने युरेनियम–२३८ लाई आणविक प्रशोधन केन्द्रमा प्रशोधन गरी युरेनियम–२३५ नामक पहेंलो केक (एल्लो केक) का रुपमा तयार पारिन्छ ।