कोरोना कहरबीच इन्द्रजात्रा शुरू


सुनील महर्जन, काठमाडौं ।

कोरोना महामारीका कारण लगाइएकोे निषेधाज्ञाले गर्दा गत वर्ष रोकिएको इन्द्रजात्रा यसपटक भने कोरोना महामारीकै बीचमा शनिबार शुरू भएको छ । इन्द्रजात्रा व्यवस्थापन समितिले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर इन्द्रजात्रा गरिने जनाएको छ ।

हरेक वर्ष भाद्र शुल्क द्वादशीदेखि भाद्र कृष्ण तृतीयासम्म इन्द्रजात्रा मनाइने गरिन्छ । धार्मिक एवं परम्परागत महत्व बोकेको इन्द्रजात्राको शुरुआत इन्द्रको मूर्तिस्वरूप इन्द्रध्वजोत्थानसँगै येंयाः (इन्द्रजात्रा) शुरु भएको छ । संस्कृतिविद् अजयक्रान्ति शाक्यका अनुसार नेपाल भाषामा इन्द्रलाई यमाद्य भनिन्छ भने याः भनेको जात्रा हो, त्यसैलाई छोटकरीमा भन्दा ‘येंयाः’ भनिएको हो । शुक्रबारदेखि नै काठमाडौंको चोक–चोकमा इन्द्रलाई बन्धनमा राखेर प्रदर्शन गरिएको थियो ।

यही परम्पराअनुसार हिजो बिहान हनुमानढोका दरबार क्षेत्र कालभैरवको अगाडि यः सिं द्यः ठड्याएर यस वर्षको पर्वको शुरुआत गरिएको छ । इन्द्रजात्रा वास्तवमा येंया पुन्हिको एउटा अशं मात्र हो ।

यःसि द्य ठड्याएपछि इन्द्रजात्रामा प्रदर्शन गरिने मजिपाः लाखे, हल्चोकको आकाश भैरव, किलागलको पुलुकिसि, देवीनाच, महाकाली नाच, आकाश भैरव, सम्यबजी सजाएर राख्नेलगायतका परम्परागत सांस्कृतिक मूर्ति तथा नाचलगायतका धार्मिक गतिविधि हुने गर्दछन् । त्यसैले, इन्द्रजात्रा एउटा मात्र उत्सव होइन, थुप्रै उत्सवको संगालो हो भन्न सकिन्छ ।

किंवदन्तीअनुसार स्वर्गलोकमा यज्ञका लागि पारिजातको फूल चाहियो । तर, त्यहाँ पारिजात फूल नभेटिएपछि इन्द्रका आमाले इन्द्रलाई फूल लिन पृथ्वी पठाइन् । इन्द्र पृथ्वी लोकमा मानिसको भेषमा आए र कसैलाई नसोधिकनै कान्तिपुरमा फूल टिपे । आफूहरूको जग्गामा फूल चोरेको भन्दै यहाँका मानिसले इन्द्रलाई समातेर डोरीले बाँधी नगर परिक्रमा गराए भन्ने किंवदन्ती छ । इन्द्रलाई बाँधेर नगरका विभिन्न क्षेत्रमा धुमाइएको प्रतीकस्वरूप इन्द्रजात्राभरि ‘यमबाःद्य’ राखिने प्रचलन रहेको छ । किंवदन्तीकै अनुसार काठमाडौंवासीको मनोबल बढाउने पर्वका रूपमा इन्द्रजात्रालाई लिन सकिन्छ ।

शनिबार बेलुका यस वर्षभरि निधन भएका व्यक्तिका परिवारले ‘उपाकु’ दीप प्रज्ज्वलन गर्दै सांस्कृतिक नगर परिक्रमा गरेका छन् । इन्द्रध्वजोत्थान गरिएको दिन वर्षभरि दिवंगत भएका आफन्तको सम्झनामा पाल्चामा बत्ती र धुप बाल्दै लिच्छविकालीन खड्ग आकारको शहर परिक्रमा गर्ने प्रचलन रहेको छ ।

त्रिभुवन विश्वविद्यालयका पूर्वप्राध्यापक एवं इतिहासविद् त्रिरत्न मानन्धरले ‘उपाकु’ बौद्ध नेवारहरूले पितृ मोक्षका लागि मनाउने पर्व रहेको धारणा राख्नुभयो । उहाँका अनुसार गाईजात्रामा हिन्दू नेवारहरूले पितृमोक्षका लागि नगर परिक्रमा गर्ने र उपाकुमा भने विशेष गरी बौद्ध नेवारहरूले नगर परिक्रमा गर्ने प्रचलन रहेको छ ।

उपाकु आएकाहरूले ठँहिटी, ज्याथा, भोटाहिटी, महाबौद्ध, न्युरोड गेट तेबहाल, सुन्धारा, बागदरबार, लगन, ह्युमत, जैशीदेगः, कोहिटी, भीमसेन स्थान हुँदै नगर परिक्रमा गर्छन् । परिक्रमा गर्ने रुटमा रहेको चैत्य र मन्दिरहरूमा सम्यबजी राख्ने प्रचलन छ । आजैबाट मजिपा लाखे, पुलुकिसी, स्वःभकुलगायतका नाच पनि प्रदर्शन हुन्छन् ।

इतिहासविद् मानन्धरका अनुसार नेपालमण्डलमा मल्लकालदेखि नै यःसिं ठड्याउने परम्परा रहेको थियो । विश्वभर शुभकार्य अगाडि लामो काठ ठड्याउने परम्परा रहेको भन्दै सिन्धुघाटी सभ्यतामा समेत काठ ठड्याउने गरिएको इतिहासविद् मानन्धर बताउनुभयो ।

काठमाडौंमा येंयाः मा पनि यःसिं ठड्याउने कार्य मल्लकालमा नै शुरू भएको थियो । तर, त्यस बेला अहिलेको जसरी तामझाम गरेर यःसिं ठड्याउने नगरिएको इतिहासविद् मानन्धर बताउनुहुन्छ । उहाँको अनुसार हाल वसन्तपुरमा रहेको काल भैरवअगाडि शाहकालमा मात्रै यःसिं ठड्याउन शुरु भएको हो ।

आज आइतबार ‘क्वःनेया’ (तल्लो टोलमा) जीवित देवी कुमारी तथा जीवित देवहरू गणेश र भैरवको रथयात्रा हुनेछ । रथयात्रा सम्पन्न भएपश्चात् राति वर्षभरि बितेका (मृत्युवरण गरेका) को सम्झनामा रथयात्रा भएकै बाटो हुँदै ‘दागी’ र त्यसपछि ‘बौंमतः’ ल्याउने परम्परा रहेको छ ।

असोज ४ गते भने कुमारी, भैरव र गणेशलाई थःनेया (माथिल्लो टोलमा रथ यात्रा) गराइन्छ । असोज ८ गते नानिचाः यात्रापछि हनुमानढोका अगाडि ठड्याइएको यःसिं ढालेर टेकु दोभानमा लगेर सेलाएपछि इन्द्रजात्रा विधिवत रूपमा सम्पन्न हुनेछ ।