पर्वत अस्पतालमा टर्किस प्रविधिको अक्सिजन प्लाण्ट जडान


पर्वत ।

पछिल्ला वर्षहरुमा भौतिक पुर्वाधार र बिरामीको उपचारमा उल्लेख्य फड्को मारेको पर्वत अस्पतालमा टर्किस प्रबिधीको अक्सिजन प्लाण्ट जडान भएको छ ।

कोभिड–१९ संक्रमणको बेलामा अक्सिजनको आवश्यकता उच्च भएको बेला झन्डै ८० लाख रुपैयाँको लगानीमा नयाँ प्लाण्ट जडान भएको हो ।पर्वत अस्पताललाई १५ शैयाबाट स्तरवृद्धि गरेर ५० शैयामा परिणत गर्ने क्रम अन्तिम चरणमा रहेका कारण नेपाल मेडिकल एसोसिएसनको सहयोगमा थप अक्सिजन प्लाण्ट जडान गरिएको अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष गोबिन्द पहाडीले बताउनुभयो । नयाँ अक्सिजन प्लाण्टबाट एक दिनमा ३५ सिलिन्डर अक्सिजन उत्पादन गर्न सकिन्छ ।

‘हाम्रो अस्पताल १५ बाट ५० शैया क्षमतामा स्तरवृद्धि भएको छ, अहिले ओपिडीमा मात्रै दैनिक करिब दुई सय बिरामी आउँछन्, बिरामीको चाप बढ्दै जाँदा हामीलाई अक्सिजन पनि धेरै आवश्यक छ,’ उहाँले भन्नुभयो ‘अस्पतालको आवश्यकता पूरा हुने गरि ८० लाख मूल्यको उच्च गुणस्तर र टर्कीस प्रविधिको प्लान्ट पाएका छौँ’ । पर्वत अस्पतालमा यसअगाडि गण्डकी प्रदेश सरकारको सहयोगमा दैनिक १५ सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्ने क्षमता रहेको छ । अब एकै दिन अस्पतालले ५० सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्ने भएको छ। अस्पतालमा नयाँ अक्सिजन प्लाण्ट जडान गर्नका लागि पर्वतकै कुश्मा नगरपालिका–१ पाङ घर भई हाल ट्रमा सेन्टरका निर्देशक एवं हाड जोर्नी तथा नशा रोग विशेषज्ञ तथा नेपाल मेडिकल एसोसिएसनका महासचिव डा. बद्री रिजाल र जलजला गाउँपालिका–७ धाइरिङ घर भएका डा. राजेश शर्माले पहल गर्नुभएको थियो ।

‘बेलाबेलामा बद्रीजीसँग कुराकानी हुन्थ्यो,सहयोग गर्ने त्यस्तो केही छ भने गृह जिल्लालाई पनि हेर्ने भन्ने कुरा भएपछि उहाँ र डा. राजेश जी को पहलमा करिब करोडको लगानी भएको छ’ अध्यक्ष पहाडीले भन्नुभयो ।अिहलेसम्म दैनिक १५ सिलिन्डर अक्सिजन उत्पादन क्षमता रहेको पर्वत अस्पतालले अक्सिजनलाई सिलिन्डरमा भरेर राख्न सकेको थिएन। प्लान्टबाट उत्पादन भएको अक्सिजनलाई सिलिन्डरमा भर्नको ‘अक्सिजन कम्प्रेसर’ उपकरणको आवश्यकता पर्दछ। तर अस्पतालमा त्यो उपकरण नहुँदा प्लान्टबाट जोडिएको अक्सिजन पाइपलाइन बिरामी राख्ने शैयामा लगेर जोडिएको थियो। तर अबको केही समयमा नै सिधै शैयामा जोडिएको पाइपलाइन बन्द गरेर भरिएका सिलिन्डरमार्फत अक्सिजन आपूर्ति हुन लागेको छ।

लायन्स क्लब अन्तर्राष्ट्रिय कोषको एक करोड ९० लाख अनुदानमा आइसियु भेन्टिलेटर, हेमोडालिसिस मेसिन, पूर्ण डिजिटल एक्स–रे प्रिन्टिङ मेशिन, लगायतका सामग्री अस्पतालमा आएर बसेका छन्। यही सामग्रीमा रहेको अक्सिजन भर्ने कम्प्रेसर मसिनको काम नै प्लान्टबाट उत्पादित अक्सिजनलाई सिलिन्डरमा भर्ने हो। लायन्स क्लबले अस्पताललाई औपचारिक रुपमा सामग्री हस्तान्तरण गरेपछि झन्डै ३६ लाख मूल्यको उक्त कम्प्रेसरबाट सिलिन्डरमा ग्यास भर्न सुरु गर्ने तयारी अस्पतालले गरेको छ। प्लान्टबाट सिधै शैय्यामा अक्सिजन लैजाँदा प्लान्टमा समस्या आएमा वा विद्युतीय समस्या आएमा चुनौती रहने गरेकोमा सिलिन्डरमा भरेपछि बिरामीको लागि कुनै जोखिम नरहने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पहाडीले बताउनुभयो ।