संयुक्त राष्ट्र संघको सत्रमा भाग लिन मोदी अमेरिका जाने


इन्डिया न्युज नेटवर्क ।

विदेश मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार क्वाड शिखर सम्मेलन र संयुक्त राष्ट्र संघको ७६ औं सत्रमा भाग लिन प्रधानमन्त्री मोदी अर्को हप्ता अमेरिकाको दुई दिने भ्रमणमा जानुहुने भएको छ । उनी सेप्टेम्बर महिनाको २४ र २५ तारिखमा अमेरिकामा रहनेछन् ।

विदेश मन्त्रालयका अनुसार सेप्टेम्बर २४ तारिखमा प्रधानमन्त्री मोदी अमेरिकी राष्ट्रपति जोसेफ आर बाइडेन, अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन र जापानी प्रधानमन्त्री योसिहिदे सुगासहित क्वाड शिखर सम्मेलनमा भाग लिन वासिंगटन डीसी जान लागेका हुन् ।

मार्च महिनाको १२ तारिखमा क्वाड राष्ट्रबीच पहिलो भर्चुअल शिखर सम्मेलन भएको थियो । यस सम्मेलनमा उक्त सम्मेलनपछि भएको प्रगतिको समीक्षा गरिनेछ तथा साझा चासोका क्षेत्रीय विषयमा छलफल गरिनेछ ।

मार्च महिनामा नै क्वाड देशहरूले कोभिड –१९ महामारीलाई नियन्त्रण गर्ने प्रयास स्वरुप क्वाड खोप पहलको घोषणा गरेका थिए । यस सम्मेलनमा यसबारे पनि समीक्षा हुने भएको छ ।

यसबाहेक समकालीन अन्तर्राष्ट्रिय मुद्दाहरूजस्तै महत्वपूर्ण र उदीयमान प्रविधि, सम्पर्क र पूर्वाधार, साइबर सुरक्षा, समुद्री सुरक्षा, मानवीय सहायता, आपतकालीन राहत, जलवायु परिवर्तन र शिक्षाजस्ता विषयमा पनि विचार आदान प्रदान गरिनेछ ।

यसका साथै यस शिखर सम्मेलनमा स्वतन्त्र, खुला र समावेशी हिन्द–प्रशान्त क्षेत्र सुनिश्चित गर्ने प्रयासबारे पनि अन्तरक्रिया गरिनेछ ।
सेप्टेम्बर २५ तारिखमा, प्रधानमन्त्री मोदीले न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्र संघको महासभाको ७६औं सत्रको उच्चस्तरीय खण्डको सामान्य बहसलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यस वर्ष सामान्य बहसको विषय ‘कोभिड –१९ बाट सम्पूर्णरूपले मुक्त हुन निर्माण, दिगो पुनर्निर्माण, आवश्यकताको सम्बोधन, नागरिक अधिकारको सम्मान र संयुक्त राष्ट्रको पुनरुत्थान’ रहेको छ ।