‘उड्डयन व्यवसायलाई पूर्वावस्थामा फर्काउन दुई वर्ष लाग्ने’



वासिंगटन,(एजेन्सी) ।

विमान निर्माण कम्पनी बोइङले विश्वको उड्डयन व्यवसायलाई कोरोनो भाइरस महामारी शुरू हुनु अघिको स्थितिमा फर्कन अझै अर्को दुई वर्ष लाग्ने जनाएको छ । बोइङ कम्पनीका व्यावसायिक बजार व्यवस्थापन उपाध्यक्ष डार्रेन हल्सटले भनेका छन्, ‘यस हवाई उडान उद्योगले सन् २०२३ को उत्तरार्ध वा सन् २०२४ को शुरूसम्ममा मात्र आफ्नो कारोबारलाई सन् २०१९ को स्तरमा फर्काउन सक्नेछ । अवश्य पनि आन्तरिक उडानले पहिला आफनो स्थितिलाई सुधार्ने छ ।

लामो दूरीका अन्तर्राष्ट्रिय उडानलाई आफ्नो पूर्व स्थितिमा फर्कन तुलनात्मक रूपमा लामो समय लाग्नेछ । अझै पनि उडानलाई संकुचित गरिएको विश्व बजार फुकुवा भएपछि बल्ल पूर्वावस्थामा फर्कन शुरू हुने बोइङको भनाइ रहेको छ । अन्तर्राष्ट्रिय एयरलाइन्स निकाय आईएटीएका अनुसार गतवर्ष विश्वको हवाई यात्रुको संख्यामा ६० प्रतिशत गिरावट आउँदा संख्या १ अर्ब ८० करोडमै सीमित हुनपुगेको थियो भने यस उद्योगले १ सय २६ अर्ब अमेरिकी डलर गुमाउन पुग्यो ।

साथै बोइङले आगामी बिस वर्षमा विश्वलाई ४३ हजार वटाभन्दा बढी विमानको आवश्यकता पर्ने पनि भविष्यवाणी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्