संशोधित दरबन्दी तेरिजमा गोदानको आपत्ति

752
Shares

काठमाडौं, (नेस) ।

वागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले संंशोधन गरेको दरबन्दी तेरिजमा सरकारी चिकित्सक संघ (गोदान) ले फेरि पनि आपत्ति जनाएको छ । संघले दरबन्दी तेरिज संशोधन गर्दा पनि चिकित्सकलाई समावेश नगरेको भन्दै आपत्ति जनाएको हो ।

संघले मंगलबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवाको मुख्य स्तम्भका रूपमा रहेको चिकित्सकलाई नजरअन्दाज गरेको भन्दै विरोध जनाएको छ । गोदानको अध्यक्ष डा. रविन खड्का र महासचिव डा. कीर्तिपाल सुवेदीद्वारा जारी विज्ञप्तिमा नर्सिङ अधिकृत, जनस्वास्थ्य, स्वास्थ्य अधिकृतजस्ता अरू विधाका स्वास्थ्यकर्मीहरू समावेश गरिनु तर चिकित्सक समूहको मेडिकल अधिकृत र विशेषज्ञ जानाजान नराखिनु हास्यास्पद एवं खेदपूर्ण रहेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ– ‘चिकित्सा शिक्षा पढेका, स्वास्थ्यमा सबैभन्दा बढी अध्ययन, अनुसन्धान गर्ने चिकित्सक वर्गलाई नीति निर्माणको तहका लागि नियोजित रूपमै अयोग्य देखाउन खोजिनु निकै खेदपूर्ण, हीन भावना र कुण्ठाले भरिएको देखिन्छ ।’

सरकारी चिकित्सक संघले मेडिकल अधिकृतदेखि विशेषज्ञहरूलाई मन्त्रालय विभाग, महाशाखा, शाखा आदिमा दरबन्दी राखी अनिवार्य रूपमा नीति निर्माणको तहलाई थप बौद्धिक सबल दूरदर्शी होस् भन्न चाहेको समेत जनाएको छ । यसअघि प्रस्तुत गरेको दरबन्दी तेरिजमा प्रशासन समूहको सचिव रहने व्यवस्था थियो । त्यसमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले तीव्र विरोध गरेपछि स्वास्थ्य समूहकै सचिव बनाउने गरी तेरिज संशोधन गरिएको थियो ।