पार्टी विभाजनको झोँक माधव नेपाल र प्रचण्डमाथि पोख्दै ओली

476
Shares

न्युज अफ नेपाल, भद्रपुर ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजनको झोक माधव नेपाल र प्रचण्डमाथि पोख्नुभएको छ । बिर्तामोडमा मंगलबार आयोजित अगुवा कार्यकर्ता भेलालाई संबोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीले एमाले विभाजन गराएर नेकपा समाजवादी खोलेका माधव नेपाल र नेकपाबाट अलग भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भएभरका गाली गर्दै आफ्नो आक्रोश पोख्नुभएको हो ।

उहाँले माधव र प्रचण्डलाई नितान्त व्यक्तिगत गाली मात्र गर्नुभयो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई छट्टु नेता , धोकेवाज नेता , तान्त्रिक , मायावीजस्ता गाली गर्नुभएका ओलीले असल नेता बन्न नसकी असल बाबु , असल काका , असल ससुरा मात्र बनेको आरोप लगाउँनुभयो ।

प्रचण्ड मान्छे भुल्याउने , अल्मल्याउने , दुनियाँलाई ढाँटेर खाने नेता भएकोसमेत आरोप लगाउँनुभयो । ओलीले कार्यकर्तालाई छक्याएर आफ्नो राजनीति सोझ्याउने प्रचण्डको पछि नलागेर भविष्य नबिगार्न आग्रह गर्नुभयो । केही दिनअघि संसदमा प्रचण्डले आगो भन्दा आफूले दुई बाल्टिन पानी खन्याइदिन्छु भनेको प्रसंगमा ओलीले के को आँटमा प्रचण्डले अझै धम्क्याउन खोजेको भन्दै धम्की दिने काम बन्द गर्न चेतावनी दिनुभयो ।

त्यस्तै माधवले जानीजानी एमाले पार्टी फुटाएको भन्दै उनलाई बेकाम्मे नेताको संज्ञा दिनुभयो । राजनीति नजानेका , जादु मन्तर नभएका , क्षमता नभएका नेता माधव भएको भन्दै उमेर पुगेका, तालुबाट कपाल झरेका व्यक्तिले झुक्किएर नभइ जानीजानी पार्टी फुटाएको आरोप लगाउँनुभयो ।

माधव एमाले विरोधी, जनविरोधी भएको आरोप लगाउँदै उनी पार्टी बनाउन नभई तमासा गर्दै नक्कली पार्टी बनाउन गएकोसमेत ओलीले आरोप लगाउँनुभयो । बोल्नेक्रममा अधिकांश समय उहाँले माधव र प्रचण्डको आलोचनामै खर्चनुभएको थियो ।